-राजकरण महतो
जनचासो
कोही मिठो खाँदा खाँदै विरामी परिरहेका छन् । गाउँका गरिब भोकै धनीमनीको दैलो चहारिरहेका छन् । मिठोमसिनो खानेहरु विमार परेपछि प्लेन चढेर विदेशी अस्पताल जान्छन् । भोकै भौतारिरहेका गरिबहरु रोगी भएपछि सिटामोल पनि नपाएर चित्तामा पुग्छन् ।धनी र गरिब दुवै मान्छे नै हुन् ।तर, समाजमा हुने खाने र नहुँदा खानेहरुको बीचको दुरी एकिन गर्न कठिन छ ।
देशको शासन व्यवस्था राजतन्त्र हुदैं गणतन्त्रमा आइपुग्यो ।सत्तामा पुगेपछि नेताहरुले कोट फेरे । तिनीहरुको पसिनाबाट पजोरे चढिरहेका छन् ।विडम्बना,विचरा ती गरिबलाई एक छाँक खान र आङ्गा ढाँक्ने लुगा जोहो गर्नमै दिन, साल र कति दशकहरु बित्ने हो त्यो ठेगान छैन ।
धनीहरु झन्–झ्न धनी हुदैं गएका छन्, गरिबहरु झ्न–झन् गरिब हुदैं गइरहेका छन् । समाजवादको नारा लगाउँदैं सिंहदरबार पसेका नेताहरु मस्त छन् ।घुम्ने मेचमा बसेपछि उनीहरु पुरा देश बिर्सिएका छन् । उनीहरुलाई एक प्रकारले रतँधो भएको छ । उनीहरु दिउँसै देख्न छाँडेका छन् । नेताहरुको वरिपरिी भजनमण्डली छन् । उनीहरु उनको स्तुति गान गाएर चाकरी गरिरहेका छन् । भुँई मान्छेलाई अझै गणतन्त्र आएको छैन । मजदुरहरुलाई भोकतन्त्र, रोगतन्त्र,लुटतन्त्र,झुटतन्त्रले गाँजेको छ । अपराधीलाई हतकडी लगाएर राखे झै निर्दोष गरिबहरुलाई ती तन्त्रहरुले दास बनाएर राखिरहेको छ । यो क्रम कहिलेसम्म चल्ने हो, त्यसकोे टुङ्गो अझै छैन ।
आदरणीय पाठक महोद्य, आज म तपाईंहरुलाई त्यस्तो पात्रसंग जमकाभेट गराउँदैंछु, जो एकाबिहानै महोत्तरीको गौशाला–९ भरतपुरको बाबा ईटा भट्टामा पसिना बगाइरहेका छन् । उनी ईटा बनाउन माटो मुच्छदै छन् । ती श्रमिक राज्यको सबै सुविधाबाट विमुख छन् । एक छाँक खाना जुटाउन उनलाई धौंधौं पर्छ ।जीवनभर अध्याँरोमा बाँचिरहेका ती औंठा छाँप गरिबले सन्तानलाई पढाएर जीवनमा उज्यालो छर्न चाहिरहेका छन् । असल नागरिक बनाउन खोजिरहेका छन् ।तर, सहज छैन । उनको सपनाको बाटोमा थुप्रै तगारोहरु छन् । ती अबरोध छिचोल्न उनलाई हम्यहम्य परिहेको छ । ती गरिबले शिक्षक, स्थानीय सरकार, न्यायप्रेमीहरुसंग अनुत्तरित प्रश्न गर्दैछन् ।
०००
देशमा राजनितिक वृत्त तातिरहेको छ ।आन्दोलन, बन्द–हड्ताल, आमसभा, आरोप–प्रत्यारोप होड्बाजीले मिडिया भरिभराउ छन् । नेताहरुको आमसभाको कुरालाई थाँतिराख्दैं तपाईंलाई ती पात्रको कथाव्यथा बुझाउन,सुनाउन ईटा भट्टामा लैजाँदै छु । भट्टाको चिमनीकोे दक्षिणतिर काँचो ईटाको थाक देखिन्छ । त्यही बीचमा एक जना युवाको अनुहार मात्रै टाढैबाट देखिन्छ, ईटाको थाकले घेरिएर । तपाईंको नजिकै ३० जती उमेरका युवक माटो कटाउन गर्न व्यस्त देखिन्छ, कोदालोले। ईटाको थुप्रोमा रेडियो ‘टियुन’ गरेर राखिएको छ । तपाईंको कानमा मैथिली गीत घनकिदैं छ–
बिन्ती छैं सब नेपाली भैया और भाईके
किया कनबै छहो ताेंसब नेपाल माईके… ।
(सबै नेपाली दाजुभाईहरुलाई बिन्ती छ, किन तपाईंहरुले नेपाल आमालाई रुवाएको ? भन्दै गायक संजय यादव प्रश्न गर्दै छन् ।)
तपाईं एकिछिन प्रखिनुस् । शान्ति भएर बस्नुस् । अघि कुरा गरेको पात्रको दुःख–सुःखको कुरो सुन्नुस् ।
०००
खाल्टोमा ती गरिब काम गर्दैछ । मलाई उनले हेरिरहेको छ । उनी कोही आयो भनेर एक टकले हेरिरहेको छ ।मलाई देखेर उनका चासो बढेको छ ।
‘तपाईं पत्रकार हो ?’ ती युवकले मलाई प्रश्न गरे ।
मैले भने,‘हो, म पत्रकार हुँ ।’ मेरो हातमा क्यामरा थियो ।उनले मलाई सहजै पहिचान गरे ।
मैले उनलाई प्रश्न गर्न नपाउँदैं उनले चिन्ता जाहेर गरे,‘नेताहरु आफै–आफैमा भिड्दैं छन्, लड्दैं छन् । देशलाई बर्बाद बनाउने भए ! ’
देशमा दुई महिना अघिदेखि भइरहेको उथलपुथलले उनमा चिन्ता थपिएको सहजै बुझिन्छ ।‘तपाईंको नाम के हो ?’ मेले प्रश्न थपें ।
उनले माटो मुच्छन छोडेर भने,‘मेरो नाउँ इन्दु सहनी हो ।’
उनी मेरो नजिकै आउँदैं गर्दा बीचै अर्को प्रश्न थपें,‘तपाईंको घर कहाँ पर्छ ?’
हिलाम्य हात धुदैं भने,‘गौशाला नगरपालिका –९ भरतपुर, महोत्तरी ।’
खेतको आलीमा उनीसंग म पनि बसें । मधेशमा खेतको कोलाहरुमै ईटा बनाइन्छ ।
‘तपाईंको कति जहान परिवार छ ? ’प्रश्न गरे ।
‘६ जना,’ उनले भने ।
उनी खुल्दैं गएपछि मेरो जिज्ञासा नबढ्ने कुरै भएन । फ्याट्टै प्रश्न सोधि हाले,‘दाईं, तपाईको छोराछोरी कति जना छन् ? ’
उनले भने,‘दुई टा छोरा, एउटी छोरी छन् ।’
‘उनीहरु अहिले कहाँ छन् ?’मैले भने ।
‘१२ बर्षीय मजित कुमार सहनी ४ कक्षमा गाउँको स्कूलमा पढ्छन् । १० बर्षीय सरगुण कुमार सहनी कक्षा ३ मा पढ्दैं छन् । ८ बर्षकी छोरीमा तीनमा पढ्दैं छें,’सन्तान पढाउन पाएकोमा उनी खुशी हुदैं भने ।
‘उनीहरुको पढाई कस्तो छ ?’ मैले भने ।
यो प्रश्न गरेपछि उनको अनुहारमा ग्रहण लागे झैं भयो । कुदी रहेको गाडीमा ब्रेक लागे झैं भयो । उनी चिन्तित मात्रै भएनन्, आक्रोसित पनि भए ।
‘केही आउँदैंन । स्कूलमा राम्रोसंग मास्टरले पढाउनुहुन्न । बच्चा नपढ्नुमा सरहरुले भन्छन्, गारजियनको कमजोरी छ रे । गारजिएनको कमजोरी के हुन्छ ? हामी दिनरात ईटा भट्टामा पेटका लागि काम गर्छौं । खुवाईपियाई गरेर बच्चालाई स्कूल पठाउँछौं, सरले राम्रो पढाउँछन् भनेर । तर, स्कूलमा राम्रोसंग देखबहाल, पढाई लेखाईमा सरले ध्यान दिदैंन,’उनले एक स्वरमा भने ।
उनको उत्तर सुनेर म पनि केही बेर रोकिए । एकजना गरिब ईटा भट्टामा काम गरेर छोराछोरी पढाएर असल बनाउने सपना देख्छन् ।तर, त्यही गरिबको करबाट तलब खाने गुरुहरुले उनीहरुको छोरोछोरी सपार्न किन सोंच्दैंन होला ! मेरो मनमा कुरो खेल्यो । .
‘किन स्कूलमा राम्रोसंग पढाई हुदैंन ?’ मैले उनलाई प्रश्न तेस्राएँ ।
उनले भने,‘त्यो त मलाई थाहा छैन । सरले खालि भन्छ, गारजियनको कमि–कमजोरीले हो ? सरले कम्तिमा सरसल्लाह त दिनु पर्यो नि । त्यो पनि दिदैंन । म बच्चाको पेटको लागि यहाँ काम गरिरहेको छु । स्कूलबाट घर फर्किएर बच्चा आउँछ । कापी पल्टाएर हेर्दा लेखेको पढेर सुनाउ भन्दा आउँदैं भन्छ ।’
‘तपाईं कति पढ्नु भएको छ ?’
‘छैन, म औंठा छाँप हो।’
‘सानोमा स्कूल पढ्न जानुभएन ?’
‘कहाँ जानु । त्यो समयमा हाम्रा बुवाआमालाई कति धेरै दुःख थियो । हामीलाई कमाएर खुवाउने कि पढाउने ? खानै पुग्दैन थियो ।’
उनको पुस्ता फेरिएको छ ।तर, गरिबीको बिल्ला फेरिएको छैन ।उनी आफु जपढेपछि सन्तानलाई पढाउन चाहन्छन्, असल नागरिक बनाउन कम्मर कसेर लागेका छन् ।
‘ईटा बनाउँदा किनमा कति कमाई हुन्छ ?’उनलाई प्रश्न गरे
‘त्यही ५–७ सय जती । जती ईटा बनाउन सक्यो, त्यती कमाई बन्छ । एक हजार ईटा बनाउँदा १३ सय जति पाइन्छ । एक जनाले मुश्किलले दिनमा ५–७ सय ईटा बनाउँछन् । ’
‘तपाईहरु बिहानै चिसोमा आएर ईटा पाथ्न सुरु गर्नुहुन्छ ?’
‘ईटा नपाथेर के गर्नु तँ ? टाईम त भगवानले बनाएको छ । टाईम अर्को तिर व्यस्त गरे भने ४–५ सय जो कमाई हुन्छ ? त्यो पनि कहाँ बाट हुन्छ ? ’
‘चिसो माटो र पानी छुँदा जाडो लाग्दैंन ?’
‘जाडो लाग्छ । तर, कहाँ जाने ? कुनै काम पाइदैंन । केही फैटिसैटिक(उद्योग) छैन ।गरिबलाई सरकारले सुन्दैन ।आफ्नो जिन्दारले एउटा भट्टा बनाएको छ। यसैमा कम्तिमा ५ सय गरिब पलाउँछ । ’
‘कति बर्षदेखि ईटा बनाउनु हुन्छ ?’
‘त्यहाँ ७– ८ बर्ष भयो होला ! ’
‘ईटा बनाउने काम कति महिना चल्छ ?’
‘६ महिना चल्छ ।दशारा(दशैं)देखि ईटा बनाउने काम सुरु हुन्छ ,जेठमा गएर लास्ट हुन्छ ।’
‘तपाईंको नागरिकता छ ? ’
‘छ ।’
‘बच्चाहरुको जन्मदर्ता छ ?’
‘छैन ।’
‘अनि उनीहरुको नाम कसरी स्कूलमा लेखाउनु भयो ? ’
‘वडा अध्यक्षले सिफारिस गरिदिएको छ । त्यसैबाट स्कूलमा पढिरहेको छ ।’
‘श्रीमतिको नागरिकता छ ?’
‘छैन ।’
‘उहाँको नागरिकता किन नबनाईदिनु भा’को ? ’
‘मेरो श्रीमति इण्डियाको छ । हामी दुवैले विहे गरेको विवाह दर्ता पनि छैन । विवाह दर्ता नहुँदा सन्तानहरुको जलमदर्ता(जन्मदर्ता) पनि बनेको छैन । बुढीको नागरिकता बन्दैन भन्छ । म नागरिकता बनाउन प्रमाण लिन ससुराली भारतको पिपरोन गएँ । त्यहाँको मुखियाले सबै प्रमाण दियो । मेरो मुखियासंग कुरा गराउनु भनेर फोन नम्बर दिएर पठायो । मेरो मुखियाले भन्छ, यहाँ बन्दैन । अदालत जानु पर्छ । टाईम मिलाएर नागरिकता लिन अदालत जान्छु । ’
‘कहिले बिवाह गर्नु भएको थियो ? ’
‘२०६३ फागुण २८ गते । बिहे गरेको पनि १४ बर्ष भएछ ।पत्नीको नागरिकता लिन जाँदा मुखिया कराएर छुट्छ, यति दिन कहाँ थियो तिमी ? गरिब छु, फुर्सद हुदैंन । समयमा पुग्न सकिएन ।यो गल्ति म महसुस गरिराखेको छु । तपाईं किन नबनाउने ?समय मिलाएर जान्छु, श्रीमतिको नागरिकता बनाएर ल्याउँछु।’जिल्ला प्रशासन, ईलाका प्रशासन कार्यालयमा नागरिकता सबै प्रमाणहरु लिएर गएपछि नागरिकता पाइन्छ । त्यो कुरा उनलाई थाहा छैन ।
‘अहिले इट्टा भट्टामा काम गर्नु हुन्छ ? यस भन्दा पहिला कहाँ काम गर्नु हुन्थ्यो ? ’
‘इण्डियामा काम गर्थें । धानसान रोप्ने,खेत जोड्ने । मजबुरीमा हामीले गर्ने काम नै मजदुरी हो । ’
‘भोट लिएर जाने नेताहरुले तपाईंहरुका लागि के के गरे ? ’
‘जुन दिन दुनियाँमा गरिबी हट्छ त्यो दिन नेताहरुको राजनिति सक्छ । दुनियाँभर गरिब रह्यो भने नेताले भाषण गर्न मौका पाइरहन्छ, चुनावमा भोट लिन आइरहन्छ । त्यही भएर गरिबलाई नेता र पार्टीहरुले उठाउन चाहँदैन । गरिवलाई चुनावमा यो गरिदिन्छु, त्यो गरिदिन्छु भनेर ललिप देखाएर ठगिरहेको छ ।’