राष्ट्रपतिले अस्वीकार गरेपछि सर्वाेच्चमा महान्यायाधिवक्ताको शपथ

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण शीतलनिवासमा गर्न अस्वीकार गरेकी छन्। महान्यायाधिवक्ताको शपथग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन रहिआए पनि राष्ट्रपतिले यसपटक भने अस्वीकार गरेकी हुन् ।

शपथग्रहणका लागि समय माग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ताको शपथ गराउन अनिच्छा जाहेर गरेकी थिइन् । राष्ट्रपतिले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको भन्दै सर्वोच्च अदालतमै शपथ गर्न भनेकी थिइन्। राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै महान्यायाधिवक्ताको शपथ गर्न परिपत्र पनि पठाएको थियो। त्यसपछि महान्यायाधिवक्ताको शपथ सर्वाेच्च अदालतमै भएको छ ।

महान्यायाधिवक्ता नियुक्त खातीले राष्ट्रपति कार्यालयबाट परिपत्र आएपछि सर्वोच्च अदालतमै शपथ भएको जानकारी दिए। यसअघिका महान्यायधिवक्ताहरुको शपथ राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले गराउने परम्परा थियो । यसअघिका महान्यायाधिवक्ता रमेश बडालको शपथ पनि राष्ट्रपति कार्यालयमै प्रधान न्यायाधीशबाट भएको थियो ।

राष्ट्रपति कार्यालयले भने यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमै भएको उदाहरण दिदै महान्यायाधिवक्ता खातीको शपथ शीतलनिवासमा गर्न अस्वीकार गरेको हो। राष्ट्रपतिको यो निर्णयसँगै सर्वोच्च अदालतमै शुक्रबार दिउँसो २स्१५ मा महान्यायाधिवक्ता खातीको शपथ ग्रहण प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले गराएका छन्। राष्ट्रपतिको यो कदमको कानुन एवं न्याय क्षेत्रबाट चर्काे आलोचना भइरहेको छ । एक जना वरिष्ठ अधिवक्ताले भने–‘राष्ट्रपतिले गरेको यो निर्णय अत्यन्त गलत छ, महान्यायाधिवक्ता राष्ट्रपतिका पनि कानुनी सल्लाहकार हुन्, कसैलाई गराउने कसैलाई नगराउने यो राष्ट्रपति संस्थाको मर्यादा भएन ।’

नवनियुक्त महान्यायाधिवक्ताको शपथग्रहणमा उपस्थित हुन राष्ट्रपतिद्वारा अस्वीकार

प्रतिक्रिया

सम्बन्धित समाचार