धनुषामा जग्गाको विषयमा दुई पक्षबीच झडप हुँदा दुईजना घाइते

धनुषा : धनुषाको बटेश्वर गाउँपालिकामा दुई पक्षबिच झडप हुँदा २ जना घाइते भएका छन् । बटेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित जग्गाको विषयलाई लिएर दुई पक्षबिच झडप हुँदा २ जना घाइते भएका हुन् ।

रासलाल दासले वि.सं. २०३० सालमा सहदेव महतोलाई १३ धूर जग्गा बिक्री गरेका थिए । गाउँपालिकाले नाप नक्सा गर्दा १९ धूर जग्गाको नक्सा कटाएको पाइएपछि रासलाल र सहदेवको परिवारबिच विवाद हुँदै आईरहेको थियो । सोमबार दूबै समूह बिच विवाद भएपछि श्यामसुन्दर दास र रामनारयण दास घाइते भएको बटेश्वर प्रहरी चौकीले जनाएको छ ।

श्यामसुन्दरको टाउकोमा चोट लागेको छ भने रामनारायणको कन्चटमा चोट लागेको हो ।यद्यपि परिवारजनले झडपमा ५ जना घाइते भएको दावी गरेका छन् । उनीहरुका अनुसार ढुंगा तथा लठीले प्रहार गरेपछि विजय दास, निभादेवी र रासलाल दास समेत घाइते भएका छन् ।

घाइतेहरुको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भईरहेको आफन्त विजय दासले जानकारी दिए ।यता घाइते श्यामसुन्दर दासले जिल्ला प्रहरी कार्यालय धनुषामा बटेश्वर गाउँपालिका सहित ४० वर्षिय रामकमल महतो, ३२ वर्षिय सुरेन्द्र महतो र २७ वर्षिय दिलीप महतोबिरुद्ध जाहेरी दर्ता गराएका छन् ।घटनामा संलग्न रहेको आरोपमा रामकमल र सुरेन्द्रलाई बटेश्वर प्रहरी चौकीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार