गौशाला ः नेपालमा अति पिछडिएका र न्यून संख्यामा रहेका पत्थरकट्टा भन्ने थेवई जातिको जाँतो,लोर्हा र सिलौटा, बनाउने पेशा संकटमा परेपछि उनीहरु आफ्नो पहिचान गुम्ने चिन्तामा परेका छन् ।
बढ्दो आधुनिकतासँगै समाजमा भएको परिवर्तन पछि गाउँघरका टोल–टोलमा पिठो र मसला पिंध्ने ग्राइण्डिङ्ग मेशीनहरु छ्याप्छ्याप्ति भएकाले सिलौटा,लोर्हा र जाँतो बनाएर जिविकोपार्जन गर्दै आएको उनीहरूको पुख्र्यौली पेशा संकटमा पर्नुका साथै लोप हुने अवस्थामा पनि पुगेको छ ।
उनीहरु नेपाल र भारतका विभिन्न स्थानबाट कालो र गहुंगोरो पत्थर आयात गरेर तथा ओसारेर ल्याईएका गुणस्तरीय पत्थरबाट जाँतो,लोर्हा र सिलौटा बनाउने गर्दछन् । एउटा सामान बनाउन दिनभर समय लाग्ने गरेको पेशाकर्मी जुगल थेवईले बताए ।
एकसेट लोर्हा– सिलौटा ४ सयदेखि ६ सय रुपैया र जाँतो १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्रि हुने गरेकोले मेहनत र लगानी अनुसारको प्रतिफल नपाएको उनीहरू बताउँछन् ।
घोडा र खच्चरमा बोकेर दिनभर गाउँटोल ,शहर, बजार डुल्दा पनि दैनिक दुइदेखि तीनवटा भन्दा बढी बिक्री नहुने गरेको उनीहरुले बताए । पत्थरकट्टा भन्ने थेवई जातिको घरपरिवार संख्या नेपालमा तीनसय भन्दा पनि कम रहेको छ । जाँतो,सिलौटा बनाएर बिक्री गर्ने सिलसिलामा आफुहरुलाई वर्षभरिनै स–परिवार जन्मथलो छाडेर एक ठाउँबाट अर्को ठाउँमा घुमन्ते जिविन जिउनु पर्ने बाध्यता रहेको उनीहरुले दुखेको पोखे ।