सिरहा ः प्रदेश नंं २ को पूर्वी जिल्ला सिरहास्थित ट्राफिक प्रहरीले राजमार्गमा चल्ने सवारीहरुबाट महिनबारी लिँदै गरेको खुलेको छ ।
सिरहास्थित रहेको सिमेन्ट फ्याक्ट्रीहरुबाट ओभरलोड गरी चल्ने सवारीहरुबाट महिनबारी असुलेर सँचालन गर्न दिएको खुलेको छ । पूर्व–पश्चिम राजमार्गमा दिनहुँ चेकिँग गर्ने सिरहा ट्राफिकले सर्वसाधारणलाई होल्ड गरेपनि लाइन भएको सवारीलाई पहिचानको आधारमा छाडने गरेको छ ।
सहकर्मी सबिन यादवले गरेको एक स्टीँग अपरेशनको क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत चल्ने सवारीमध्ये मापदण्ड विपरित सँचालनमा रहेको सवारीहरुको लाइन दिएको प्रष्ट देखिएको छ ।
मापदण्ड विपरित समान ओभरलोड गर्ने सवारी, लाईसेन्स नभएको सवारी, कर समेत नतिरिएको सवारीलाई लाइनको आधारमा चल्न दिएको भिडियोमा प्रष्ट छ ।
हाम्रो टिमले गरेको स्टीँग अपरेशनको क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत चल्ने विभिन्न सवारीलाई होल्ड गरिएको पाइयो । सो क्रममा ट्राफिक प्रहरीसँग नयाँ भएको वा लाइन नभएको चालकसँग चिट काटने गरेको पाइयो भने लाइन भएको चालक पहिचान गरी त्यतिकै छाडिरहेको पाईयो ।
स्टीँग अपरेशनको क्रममा लाइन मिलाएको एक चालकलाई ट्रकमा ओभरलोड गरेको कारण होल्ड गरिएको थियो । सो क्रममा चालक तल झरेर परिचय दिएपछि लाइन मिलाएको बुझियो । उनलाई तत्कालै जान दिइयो ।
हाम्रो टिमले चालकसँग सोध्यो–“हामीलाई यहाँ होल्ड गरेको छ । तपाईलाई चैँ त्यतिकै छाडियो त ? कसरी ?” अनि, चालकले आफूहरुको ट्राफिकसँग लाईन भएको जवाफ फर्काए । उनले ट्राफिक प्रहरीलाई महिनबारी रकम दिने गरेको पनि बताए ।
सिरहाको विभिन्न ठाउँबाट राजमार्ग सहित लोकमार्ग पनि चल्ने सवारी धनीसँग ट्राफिक प्रहरीले लाइन दिएको हुन्छ । ईटा भठ्ठा, क्रसर, सिमेन्ट फ्याक्ट्रीबाट निस्कने सवारीले मापदण्ड विपरित लोड गरिएको अवस्थामा पनि ट्राफिकले हरियो झण्डी देखाउने गरेको छ ।
लाईन दिएको सवारीको लागि चालकले कुनै कागजपत्र समेत नबोके फरक पर्दैन् । उनीहरुले भठ्ठा मालिक, क्रसर मालिक, सिमेन्ट फ्याक्ट्रीको व्यवस्थापन पक्ष, होलसेलर पक्षसँग मापदण्ड विपरित पनि सवारी सँचालन गर्न दिइने मौखिक सम्झौता भएको स्थानीय एक नेताले बताए ।
सिरहाको गोलबजार, मिर्चैया, लहान, बन्दिपुर, बरियारपट्टि क्षेत्र, चोहर्बा, सिरहा लगायतका ठाउँमा ट्राफिकले लाइन मिलाएको बुझिएको छ । स्रोत ः न्यूज व्यूरो