नयाँदिल्ली : भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको हो । सीबीडीटीका प्रवक्ता सुरभी अहलुवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेकी छिन् ।
सुरभीले बीबीसीसँगको कुराकानीमा भनेकी छिन्, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेसन जारी छ । यस विषयमा अहिले हामी यति मात्र बताउन सक्छौं ।’
दैनिक भास्करका नेशनल इडिटर लक्ष्मीप्रसाद पन्तले भने, ‘जयपुर कार्यालयमा केही प्रहरीको टोली पुगेको छ । उनीहरुले के अनुसन्धान गरिरहेका छन् भन्ने हामीलाई थाहा छैन । म कार्यालय जाँदै छु ।’
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार पत्रिकाका प्रमोटर्सहरुको घर तथा कार्यालयमा छुट्टाछुटै टोलीले छापा मारेको हो । मध्यप्रदेशको भारतीय कांग्रेस पार्टीका नेता दिग्विजय सिंहले सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै आधा दर्जनभन्दा धेरै स्थानमा छापा मारिएको बताएका छन् ।
दैनिक भास्कर भारतको चर्चित हिन्दी पत्रिका हो । दैनिक भास्करले कोरोना महामारीको क्रममा धेरै खोजमूलक समाचार प्रकाशित गरेको छ । जसमा सरकारले कोरोना नियन्त्रणको लागि चालेको कदमबारे प्रश्न उठाइएको थियो ।
भारत सरकारले अक्सिजन अभावको कारण मृत्यु हुनेको संख्या शून्य बताइरहेको समयमा उसले गत अप्रिलमा मध्यप्रदेशमा मात्र अक्सिजन अभावको कारण ६० जनाको मृत्यु भएको समाचार सार्वजनिक गरेको थियो ।
त्यस्तै कोरोनाको दोस्रो लहर आउनुमा पनि सरकारले चरम लापरबाही गरेको खोजमूलक समाचारहरु दैनिक भास्करले श्रृङ्खलाबद्धरुपमा प्रकाशित गरेको थियो । त्यस्तै उसले गंगा नदी किनारमा भेटिएका शवहरूका विषयमा खोजमुलक रिपोर्ट प्रकाशित गरेको थियो । केन्द्र सरकारले फैलाएको गलत समाचार वा लुकाएको तथ्यांकको पनि फ्याक्ट चेक दिँदै आएको थियो ।
भारतका विपक्षी दलहरुले सरकारले दैनिक भास्करमाथि उसको कमजोरी उजागर गरेको प्रतिरोध साँध्न छापा मारेको बताएका छन् । मध्यप्रदेशका पूर्व मुख्यमन्त्री कमल नाथले मोदी सरकार राज्यको चौथो अंगलाई दबाउने र सत्यलाई लुकाउने प्रयासमा लागेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत् उनले पेगाससको निशानामा धेरै मिडिया र त्यसमा काम गर्ने मानिसहरु रहेकोमा अब सरकारले पनि निरन्तर आफ्नो पोल खोलिरहेको बताएका छन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक भास्करको कार्यालयमा छापा मार्नु मिडियालाई डर देखाउने प्रयास भएको बताएका छन् । सरकारविरुद्ध बोल्नेलाई नछाड्ने नीतिमा अहिले सरकार रहेको केजरीवालको बुझाइ छ ।
यसअघि गत फेब्रुअरीमा भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेटले न्युजक्लिक डट इनसँग जोडिएका पत्रकारहरु र अधिकारीहरुको घरमा छापा मारेको थियो ।
–एजेन्सी