
काठमाडौं ः नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौंबाट दिल्ली पुगेका एकजना यात्रुको कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ रिपोर्ट फेला परेको छ ।
शुक्रबार काठमाडौ ंस्थित त्रिभुवन विमानस्थलस्थित निगमका कर्मचारीको लापरबाहीका कारण पोजेटिभ रिपोर्ट आएका यात्रुलाई समेत जहाज चढाएको अनुमान छ ।
विमानस्थल स्रोतका अनुसार दिल्ली पुगेको जहाजमा कुल १४१ यात्रु थिए । कोभिड–१९ पोजेटिभ रिपोर्ट बोक्ने यात्रु महिला हुन् । उनको साथ र आसपास बस्ने ११ जना यात्रुलाई आइसोलेसनमा पठाइएको छ ।
कोभिड–१९ पोजेटिभ रिपोर्ट भएका यात्रुलाई जहाज चढाउन पाइँदैन । नेपाल आउने र बाहिरिने सबै यात्रुको साथमा ७२ घन्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्छ ।
नेपाल एयरलाइन्सकि प्रवक्ता करिष्मा श्रेष्ठले यात्रुको साथमा कोभिड पोजेटिभ रिपोर्ट भएको खबर आएको पुष्टि गरिन । ‘मैले पनि यो खबर सुने,’ उनले भनिन्, ‘तर मसँग आधिकारिक पत्र आइसकेको छैन ।’
नेपाल एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण यसअघि पनि पटकपटक कम्पनीले कारबाही भोग्नु परेको छ । तर, व्यवस्थापनले भने कर्मचारीलाई कारबाही गर्न सकेको छैन ।
प्रतिक्रिया