Friday 20th of September 2024

हतियार देखाएर लुटपाट प्रयास, घटना भएको एक सातासम्म पक्राउ परेनन् लुटेरा

0 Shares

विराटनगर : मास्क लगाएर आएका दुई पुरुष सरासर सुनचाँदी पसलमा छिर्छन् । दोस्रो व्यक्तिको दाहिने हातले झोला (ब्याग) च्यापेको छ । उनीहरु छिर्नेवित्तिकै पसलबाट बाहिर निस्कँदै गरेकी महिलालाई भित्रै तान्न खोजे पनि उनी भाग्न सफल हुन्छिन् । वरपरका महिलाहरु बच्चा च्यापेर दौडिन्छन् । त्यहीँ आइपुगेका तेस्रो व्यक्तिले पसलअगाडि उभिएर रेकी गर्दै कम्मरबाट पेस्तोल निकालेर तेस्र्याएपछि वरपर भेला भएकाहरुबीच भागदौड मच्चिन्छ ।

लगभग आधा मिनेटपछि दुई व्यक्ति पसलबाट निस्कन्छन् । एक जना एसएमजी र दुई जना पेस्तोल देखाउँदै उत्तर–पश्चिमतिर लाग्छन् । हतियार देखेपछि छेउछाउ पर्ने आँट कसैले गर्दैनन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकको त्रिवेणी टोलमा रहेको सुनचाँदी पसलको सीसी क्यामेरामा कैद भएको यो दृष्ट एक मिनेटजतिको छ । फुटेजमा हतियारधारी तीनजना र उनका गतिविधि देख्न सकिन्छ । अघिल्लो शुक्रबार दिउँसोको यो घटना खगेन्द्र थापाले घरमै सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा दिनदहाडै भएको लुटपाटको असफल प्रयाससँग सम्बन्धित छ ।

सुरक्षाकर्मीको विशेष टोलीले मात्रै बोक्न पाउने अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मेसिनगन)सहित सुनचाँदी पसल लुट्नलाई दुईवटा मोटरसाइकलमा चार जनाको समूह आएको प्रहरीले बताएको छ । एक जनाले भने केही पर बसेर माहोल विचार गरिरहेको खुलेको छ । असफल भएसँगै अपरिचित समूह हतियार प्रदर्शन गर्दै मोटरसाइकलमा चढेर उत्तर–पश्चिमतिरै लागेको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट लगभग पाँच सय मिटरजति दक्षिणमा रहेको पूर्व–पश्चिम लोकमार्ग नछोएको समूहले भित्री सडकखण्ड प्रयोग गरेको प्रहरी बताउँछ । विराटचोकको मुख्य बजार रहेको उक्त स्थान २४ घण्टा नै प्रहरीको सुरक्षामा हुन्छ । तर नजिकै भएको सनसनीपूर्ण घटनाको अनुसन्धानमा भने प्रहरीले लापरबाही र ढिलासुस्ती गरिरहेको गुनासो व्यवसायी एवं स्थानीयको छ ।

लुटेरा को हुन् र कसरी अत्याधुनिक हतियार ल्याउन सफल भएभन्नेमा प्रहरी सुराकविहीन र अनभिज्ञ छ । हतियारका विषयमा नेपाली सेनाले चासो व्यक्त गरेको छ । आतंक खडा गरेर दिनदहाडै भएको लुटपाट प्रयासमा प्रहरी अनुसन्धान सफल हुन सकिरहेको छैन ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको हो । लुटेराको पहिचान, खोजी एवं अनुसन्धानका लागि प्रहरीको छुट्टै टोली पनि परिचालित छ । तर यति ठूलो र सुरक्षा संवेदनशीलातामा गम्भीर प्रश्न उब्जाएको यस घटनामा एक साता बितिसक्दा पनि उपलब्धी शून्य छ । प्रहरी प्रधान कार्यालयबाट अघिल्लो वर्ष अर्थात ६५ औँ प्रहरी दिवसका अवसरमा उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा पुरस्कृत भएका खनालले यो घटनाको अनुसन्धानमा भने सफलता प्राप्त गर्न सकिरहेका छैनन्  ।

‘मोटरसाइकल र लुटेरा समूहको पहिचान नभएकाले पक्राउ गर्न सकिएको छैन ,’ प्रहरी स्रोतले भन्यो, ‘अनुसन्धान नै अलमलमा परिरहेका बेला हतियारका बारेमा त झन् केही खुलेकै छैन ।’ प्रहरीले मास्कले छोपिएको अनुहारबाहेक सबै हुलिया खुल्ने सीसी क्यामेरा फुटेज अनुसन्धानका लागि लगिसकेको छ ।

त्यतिबेला पसलभित्र  पसल सञ्चालक थापा, उनकी श्रीमती टीकादेवी र ६ वर्षका नाति थिए । टीकादेवी बाहिरिएको केही बेरमै ६ वर्षे बालक पनि आत्तिँदै पसलबाट निस्किएर भागेको फुटेजमा देख्न सकिन्छ । टीकादेवीले होहल्ला गर्न थालेसँगै स्थानीय भेलाजम्मा हुन थालेपछि लुटेरा समूह हतियार देखाउँदै भागेको हो ।

कुनै अप्रीय घटना नभए पनि त्यस दिनदेखिको डर र त्रास कायमै रहेको थापाले बताए । ‘सुनको कारोबार गर्न मान्छे डराउन थालेकाले घटना भएका दिनदेखि पसल खोले पनि चलेको छैन,’ उनले भने, ‘ठूलो धक्का लागेर व्यापारमा असर प¥यो । दिनदहाडैको घटनामा संलग्नलाई प्रहरीले पक्राउ नै गर्दैन ।’ सीसी क्यामेरा फुटेजबाट धेरै कुरा खुल्ने भए पनि पहिचान र पक्राउमा प्रहरी चुकिरहँदा झन् तनाव थपिएको थापाको गुनासो छ ।

स्थानीय व्यवसायीहरुले लुटेरा पक्राउ नपर्नुले गम्भीर शंका उब्जिएको बताएका छन् । अनुसन्धान भइरहेको भनेर ‘रेडिमेड’ जवाफ दिनेबाहेक प्रहरीले प्रगति हाँसिल नगर्दा व्यवसायिक असुरक्षा बढेको उनीहरुको गुनासो छ । ‘सामान्य व्यापार गर्नेहरुसमेत असुरक्षित भइरहँदा राज्य संवेदनशील हुन सकेन,’ एक व्यवसायीले भने, ‘प्रहरीको कमजोरीका कारण लुटेरा पक्राउ नपर्दा अर्कोतिर यहि घटना हुनसक्ने सम्भावना पनि रहन्छ ।’

घटनामा प्रहरीको गम्भीर लापरबाही भएको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजालले बताए । ‘प्रहरी असंवेदनशीलताकै कारण त्रसित र आतंकित एवं असुरक्षित भएर बस्नु परिरहेको छ,’ उनले भने, ‘लुटेराको खोजी, पक्राउ र सबै क्षेत्रमा निगरानी बढाउन स्थानीय प्रशासनलाई दबाब दिँदै व्यवसायीलाई सुरक्षित रहन आह्वान गरिएको छ ।’ अध्यक्ष रिजालले एक साता बितिसक्दासम्म लुटेरा पक्राउ नपर्दा र प्रहरी सफल नहुँदा सुरक्षा चिन्ता बढेको बताए ।

संघका निवर्तमान अध्यक्ष नवराज चापागाईंले प्रहरी र प्रशासनलाई घचघच्याउने काम भइरहेको बताए । ‘व्यवसायीमा ठूलो आतंक खडा भइरहँदा प्रहरीले काम गरेजस्तै त देखिन्छ,’ उनले भने, ‘तर प्रहरी सफल नभएकैले होला नतिजा शून्य छ ।’

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान जारी राखिए पनि हालसम्म सफलता प्राप्त गर्न नसकिएको स्वीकार गरे । ‘जसले जे भने पनि प्रहरीले अनुसन्धान गर्न छाडेको छैन,’ उनले भने, ‘तर उपलब्धी हात नपरिसकेकाले घटनाको नजिक पुग्न समय लाग्नसक्छ ।’ प्रमाण जुटाउँदै प्राविधिक पक्षहरुलाई आधार बनाएर काम भइरहेकाले केही समयभित्र नतिजा निस्कनसक्ने डीएसपी श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया