Thursday 7th of November 2024

ठूलो बुबाको छोराले विवाह गर्न मानेनन्, सुजिताले गरिन् आत्महत्या

0 Shares

काठमाडौं : ११ असारको विहान । घरबाट साथीको घरमा जान्छु भनेर निस्किएकी थिइन्, चितवनकी सुजिता भण्डारी ।

तर, उनी त्यो दिन घरमा फर्किइनन् । भोलिपल्ट पनि उनको कुनै अत्तोपत्तो भेटिएन । त्यसपछि उनको खोजी सुरु भयो । प्रहरीकहाँ रिपोर्ट भयो ।

एक सातासम्म उनको अत्तोपत्तो भएन । हराएको नवौं दिन अर्थात् २० असारमा उनको घरको नजिकै रहेको एउटा जंगलको छेउमा भेटियो उनको शव । उनको शवको नजिकै एउटा विषको सिसा पनि भेटिएको थियो । प्रहरीले प्रारम्भिक अनुमानमा भन्यो– सुजिताले आत्महत्या गरेको सम्भावना बढी छ ।

किन गरिन् त सुजिताले आत्महत्या ?

यसबारे प्रहरीले अब निष्कर्ष निकालेको छ । उनले प्रेमीले विवाह गर्न नमान्दा आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । तर, पोस्टमार्टम रिपोर्टले पनि सुजिताले कसरी आत्महत्या गरेकी हुन् भन्नेबारे कुनै निक्र्योल दिन सकेको छैन, यसबारे पत्ता लगाउन अब भिसेरा परीक्षण गरिने भएको छ ।

प्रहरीले सुजिता भण्डारी मृत्यु प्रकरणमा एक युवालाई पक्राउ गरेको छ । उनले उक्साएका कारण सुजिताले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा जनाएको छ । पक्राउ पर्ने उनकै प्रेमी हुन् ।

नाताले दाजु पर्ने २३ वर्षका सचिन भनिने सुकदेव भण्डारीसँगको प्रेम असफल हुने भएपछि सुजिताले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको हो । उनीहरुबीच प्रेम सम्बन्ध रहेको र सुकदेव सुजिताका ठूलो बुबाका छोरा भएको प्रहरीले अनुसन्धानमा पाएको हो ।

झापा शरणमतिका सुकदेवसँग सुजिताले प्रस्ताव राखेकी थिइन्– विवाह गरौँ । तर, उनको प्रस्ताव सुकदेवले नमानेपछि सुजिताले आत्महत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको अनुसन्धान अधिकृत डिएसपी इन्द्रबहादुर रानाले फरकधारलाई बताएका छन् ।

यी दुईले काठमाडौंमा कोठा लिएर बस्ने योजनासमेत बनाएको अनुसन्धानमा देखिएको रानाले बताएका छन् ।

काठमाडौंमा तुरुन्त कोठा खोज्न दबाब दिँदै आएकी थिइन् सुकदेवलाई सुजिताले ।

डिएसपी रानाका अनुसार यी दुई केही समय काठमाडौंमा सँगै बसेका पनि थिए । प्रहरीको अनुसन्धानअनुसार यी दुईले एकअर्काको प्रेमलाई विवाहमा परिणत गर्न सामाजिक कारण बाधक बनेको निष्कर्ष निकालेको छ । सामाजिक कारण बाधक बनेकाले यी दुईले सँगै विदेश जाने वा एकअर्काको अपहरण भएको नाटक गरेर अरु कसैले नचिन्ने ठाउँमा जानेसमेत योजना बनाएका थिए ।

सुजिताले विवाहका लागि सुकदेवलाई कतिसम्म दबाब दिन थालेकी थिइन् भने उनले ९ असारमा अब विवाह नगरे आफू मर्ने धम्कीसमेत सुजिताले दिएकी थिइन् । सुजिताले यसो भन्दा सुकदेवले जवाफ फर्काएका थिए– जे गर्छेस् गर ।

सुकदेव र सुजिताबीचको अन्तिम सम्पर्क नै त्यही दिन भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

डिएसपी रानाका अनुसार यी दुईको सम्बन्धबारे परिवारमा पनि केही समयदेखि आशंका गरिएको थियो । सुजिताकी आमा अम्बिकाले जिल्ला प्रहरी कार्यालय चितवनमा सुकदेवविरुद्ध ६ असारमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकी थिइन् । उनको जाहेरीसँगै सुकेदवलाई ७ असारमा प्रहरीले काठमाडौंमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

पक्राउ परेका सुकदेवविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धि कसूर अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ । संहिताको दफा १८५ मा आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया