Tuesday 21st of January 2025

निजी अस्पतालमा लगानी बढाएका उमेश श्रेष्ठको स्वास्थ्य मन्त्रालयमा ‘इन्ट्री’

0 Shares

काठमाडौं : शिक्षा व्यवसायी उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी तोकेकी हुन्। सबैलाई चकित पार्दै श्रेष्ठले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्नुको कारण भने रोचक छ।

श्रष्ठले पछिल्लो समय निजी अस्पतालमा लगानी बढाउँदै लगेका थिए। शिक्षा, बैंकलगायतका क्षेत्रसँगै कोरोना कालपछि स्वास्थ्य क्षेत्रमा समेत व्यापार सुरु गरेका उनले आफ्नो लगानीको लाभ ‘सुनिश्चित’ गर्न स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी लिएको जानकारहरु बताउँछन्।

निजी अस्पताल सञ्चालनको अनुमतिदेखि नियमनसम्म मन्त्रालयले गर्ने भएकाले उनले स्वास्थ्य क्षेत्र रोजेको बुझिएको छ।केही समयदेखि उनी अस्पतालहरूको चेन बनाउने भन्दै हिँडिरहेका थिए।

उनले ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटीक अस्पताल खोल्ने तयारी गरेका छन्। उक्त अस्पताल उच्च आय भएको वर्गलाई लक्षित गरेर ल्याउन लागिएको उनको भनाइ रहेको छ।

जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको जनमैत्री अस्पताल उनकै नेतृत्वमा छ। श्रेष्ठले महेन्द्र नारायण निधी अस्पताल ट्रष्टको अध्यक्षता पनि गरिरहेका छन्।

उनले काठमाडौं उपत्यकामात्र होइन चितवन, नुवाकोटमा पनि अस्पताल सञ्चालन गर्ने योजना अघि बढाइसकेको बताउने गरेका छन् ।

प्रतिक्रिया