Friday 20th of September 2024

प्रदेश २ ः सवारी करमा छुट

0 Shares

जनकपुरधाम ः पाँच वर्षभन्दा बढी समयदेखि नविकरण नगरेका सवारी धनीलाई कर बुझाउन प्रदेश २ का यातायात कार्यालयहरुले सूचना जारी गरेको छ ।

यातायात व्यवस्था कार्यालय लहानले आईतवार जारी गरेको सूचनामा भनिएको छ, ‘सवारी दाखिला नगरी सवारी दर्ता प्रमाणपत्रको नविकरण म्याद ५ वर्ष वा सोभन्दा बढी भई नविकरण नगरेका सवारी धनिले आफ्नो सवारी साधन पुनः दर्ता वा दर्ता खारेज गरी लगत कट्टा गर्न चाहेमा ०७८ पौष मसान्तभित्र एकमुष्ट सवारी कर र नविकरण दस्तुर बुझाएमा प्रचलित कानून बमोजिम लाग्ने जरिवाना छुट दिइनेछ ।’

प्रदेश २ सरकारको आर्थिक ऐन २०७८ को दफा ११ को उपदफा (५)मा सवारीमा लाग्ने जरिवाना छुट सम्बन्धि व्यवस्था अनुसार उक्त सूचना यातायात लहानले जारी गरेको छ । यस्तै खालको सूचना बीरगञ्ज, बर्दिबास, जनकपुर र गौरले पनि जारी गरेको बुझिएको छ ।
प्रदेश सरकारले बढीभन्दा बढी कर संकलन गर्ने नीति अनुसार सवारी साधनको दर्ता खारेज नगराएमा कर असुलि राख्ने कानून नै बनाएको छ । कुनै सवारी साधन दुर्घटनामा परेर क्षतिग्रस्त भई चलाउने नसकिने अवस्था सृजना भयो वा अन्य कुनै कारणबस सवारी साधन नचलाउने इच्छा भएमा उक्त सवारीको दर्ता खारेज गर्नुपर्ने हुन्छ । यदि सवारीको दर्ता खारेज नगरे कर र जरिवाना लागिरहने प्रदेश सरकारले कानून निर्माण गरेको छ ।

यस्तै समय सिमाभित्र पनि सवारी साधन कर र नविकरण दस्तुर नबुझाई सवारी चलाएको पाइएमा वा लुकाई छिपाई राखेकामा उक्त सवारी साधन जफ्त समेत गरिनेछ । सवारी लुकाई छिपाई राखेको अवस्थाको सुचना दिने सुराकीलाई सवारी लिलामबाट प्राप्त हुने रकमको १० प्रतिशत र कर्मचारीलाई १५ प्रतिशत प्रोत्साहन स्वरुप रकम उपलब्ध गराइनेछ ।

प्रतिक्रिया