हात्तीको दाह्रासहित तीन पक्राउ

रञ्जन यादव, जीतपुर । बारा प्रहरीले हात्तीको दाह्रासहित तीन जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ स्थित अमलेखगञ्ज बजारबाट तीनै जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमरा बाराले जनाएको छ ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२ २७ नम्बरको मोटरसाइकललाई बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई रहेको अवस्थामा उक्त दाह्रा फेला पारेको हो ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नं.११ बस्ने बर्ष ३४ का सूर्य प्रताप तामाङ ,सोही ठाउँ बस्ने बर्ष ३५ का दिल बहादुर घलान र हेटौडा उपमहानगरपालिका वडा नं.१३ बस्ने बर्ष ३५ का सुबास लो रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुवरले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ३ फिट ८ ईन्चको लम्बाई ,एक फिट गोलाई भएको १ थान हात्तीको दाह्रा बरामद गरेको छ ।

बरामद हात्तीको दाह्राको तौल ८ किलो ४४० ग्राम रहेको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धानकोलागि पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । –जनकपुरटुडे पत्रिका

प्रतिक्रिया