
सप्तरी ः लामो समयदेखि बक्यौता विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धमाधम लाइन काटिरहेका विद्युत प्राधिकरण बितरण केन्द्रले मंगलबार राजविराज नगरपालिका कार्यालयको लाइन पनि काटेको छ ।
जरिवाना बाहेक १६ लाख रुपैयाँ बाँकी रहेको र पटक पटक ताकेता गर्दा पनि वेवास्ता गरेकाले नगरपालिका कार्यालयको बिद्युत आपूर्ती बन्द गरिएको विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले जनाएको छ । पटक पटक विद्युतको वक्यौता महसुल बुझाउन पत्राचार गर्दा पनि वेवास्ता गरिएकाले बाध्य भई लाइन काटेका हौं, बितरण केन्द्रका प्रमुख आमोद प्रसाद यादवले भने, “वक्यौता महसुल नबुझाएसम्म लाइन जोडिदैन् ।”
उनले दुई दिनअघि पनि वक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा समेत जानकारी गराउँदा पनि नगरपालिकाले वेवास्ता गरेको बताए । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले प्राधिकरणद्वारा बिद्युत सेवा प्रदानका लागि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोल वापतको भाडा नगरपालिकाले नलिएको र प्राधिकरणले पनि विद्युत महसुल नलिने भन्ने विषयमा नगरपालिकाको तर्फबाट पहल भइरहेका बेला एक्कासी लाइन काटिनु उचित नभएको बताए ।
प्राधिकरणले हामीसँग विद्युत उपभोग गरेवापत शुल्क लिए हामी पनि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोलवापतको भाडा लिन बाध्य हुनेछौं उनको भनाई छ । उनले नगरपालिका स्थापना भएदेखि नै विद्युत महसुल नबुझाएको आफूलाई जानकारी प्राप्त भएको भन्दै यसको समाधानका लागि नगर प्रमुख सँग छलफल गरि आवश्यक निर्णय लिने जानकारी दिएका छन् ।
यता लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट संचालन हुने सबै सेवा ठप्प भएको छ । –जनकपुरटुडे पत्रिका