ओम प्रकाश यादव, रौतहट । राहत सामग्री कुहाएको विषयलाई लिएर रौतहटको देवाही गोनाही नगरपालिकामा स्थानयीयहरुले प्रदर्शनगर्दै तोडफोड गरेका छन् ।
देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले प्रदेश सरकार लगायत विभिन्न निकायबाट प्राप्त लाखौको राहत सामग्री कुहाएर नष्ट गरेको भन्दै स्थानीयहरुले मंगलवार नगरपालिकाको कार्यालय घेराउ गरी तोडफोड गरे । ढुंगा प्रहारबाट उपमेयर परनिया देवी पटेल घाइते भएकी छिन । ढुंगा लागेर पटेलको टाउकोमा गम्भिर चोट लागेको छ ।
नगरपालिका कार्यालय अगाडि ठुलो संख्यामा जम्मा भएको भिडलाई हटाउन खोज्दा उनिहरु केही प्रहरीमाथी पनि ढुंगा प्रहार गर्नुका साथै हातपात समेत गरेका छन । भीड अत्याधिक भएपछि हटाउने प्रयास गर्दा स्थानीयहरु उल्टै प्रहरीकै लठि खोसेर लच्छारपच्छार गर्दै हातपात गरेका थिए । ढुंगा प्रहारबाट तिन जना प्रहरीलाई पनि चोटपटक लागेको छ ।
नगरपालिका कार्यालय र प्रहरीमाथी ढुंगा प्रहार भइरहेको भिडियो खिचिरहेका पत्रकारहरुमाथी पनि उनिहरुले ढुंगा प्रहार गर्न थालेको थियो । स्थानीयहरुले प्रहार गरेको ढुंगा लागेर पत्रकार कृष्ण तिवारी घाइते भएका छन । घटनापछि देवाही गोनाहीको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो । कार्यालय सञ्चालन रहेकै अवस्थामा कुहिएको चामल, दाल नष्ट गरिएको विषयलाई लिएर केही निर्वाचित जनप्रतिनिधि र चुनावमा आफुसँग पराजित भएका केही अराजक तत्वले नगरपालिका कार्यालयमाथी आक्रमण गर्न लगाएको मेयर धर्मेन्द्र पटेलले बताएका छन ।
देवाही गोनाही नगरपालिका ४ का वडा अध्यक्ष रामप्रवेस पटेल, वडा नं ६ का वडा अध्यक्ष अनिल झा, वडा नं ७ का वडा अध्यक्ष जगरनाथ यादव र वडा नं ८ का वडा अध्यक्ष हरिराउत पटेल सहित मेयरका प्रत्याक्षी प्रेमलाल साह लगायतको नेतृत्वमा सयौंको संख्यामा आएका अपराधिक व्यक्तिहरु नगरपालिका कार्यालयमाथी आक्रमण गरी व्यापक क्षति पुरयाएको मेयर पटेलले बताए ।
गरिव जनता राहत नपाएर भोकै छटपटाए पनि कसैलाई वितरण नगरी स्टोरमा थन्काएर चामल, दाल लगायतका खाद्यान सामग्री कुहाएको भन्दै स्थानीयहरु मेयर पटेलको राजिनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले मेयर पटेल ‘राजिनामा दे, गरिव जनताको राहत कुहाउन पाइदैन, राहत कुहाउने मेयरलाई कार्यवाही गर’ जस्ता नारावाजी गरिएको थियो । कोरोनाबाट आक्रान्त बनेको समय गरिव, असहाय तथा निमुखा जनताका लागि विभिन्न निकायले उपलब्ध गराएको लाखौ मुल्य बराबरको खाद्यान सामग्री कसैलाई वितरण नै नगरी स्टोरमा राखेर कुहाएको भन्दै स्थानीयहरुले नगर प्रमुख पटेल विरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरे ।
कोराना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि रौतहट प्रशासनले जारी गरेको निषेधाज्ञाबाट प्रभावित भएका अति बिपन्न परिवारलाई वितरण गर्नका लागि प्रदेश सरकार लगायत विभिन्न दातृ निकायहरुले नगरपालिकालाई दुईसय भन्दा बढी बोरा चामल, दाल, खाने तेल लगायतका खाद्यान्न सामग्री सहयोग गरेका थिए । मेयर पटेलले सो सामग्री मध्ये केही मात्र वितरण गरेको र बाँकी सामग्री आपत विपदमा परेकालाई मात्र वितरण गर्ने भन्दै स्टक गरेर राखेका थिए ।
मधेश संग्रहालयमा स्टक गरेर राखिएको उक्त खाद्यान्न सामग्री वर्षाको पानीले भिजेर कुहिएको बताइएकोछ । मेयर पटेलले कुहिएको उक्त खाद्यान सामग्रीहरु संग्रहालयकै छेउमा जेसीबीले खाल्टो खनेर जमिन मुनी गाडेको थियो । निषेधाज्ञाका बेला खाना नपाएर कयौं गरिव तथा निमुखा जनताहरु भोकै बसेपनि कसैलाई राहत वितरण नगरी स्टकमा राहत सामग्री कुहाएर नष्ट पारेको भन्दै आक्रोसित स्थानीयहरुले नगरपालिका कार्यालय घेराउ गरी विरोध प्रदर्शन गर्नुका साथै नगरपालिका कार्यालयमा तोडफोड समेत गरे ।
मेयर धर्मेन्द्र पटेलको गैर जिम्मेवारीपन तथा चरम लापरवाहीका कारण राहत सामग्रि कुहिएको भन्दै स्थानीयहरु प्रदर्शन गरेकाहुन् ।स्थानीयहरुले ढुंगा प्रहार गर्दै कार्यालयको सबै कोठाको सिसाको झयाल फुटाइदिएको छ । ढुंगा प्रहारबाट मेयर, उपमेयर, प्रशासकीय अधिकृत लगाएत विभिन्न कर्मचारी बस्ने कोठाको कामै नलाग्ने गरी सिसा फुटेको छ ।
ढुंगा प्रहारबाट नगरपालिका कार्यालयको अन्य भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको छ । गरिवलाई वितरण नगरी खाद्यान सामग्रि किन कुहाएको र नष्ट गरेको भन्दै केही पत्रकारहरुले मेयर पटेलसँग उनकै कार्यकक्षमा प्रतिक्रिया लिरहेको अवस्थामा स्थानीयहरुले नगरपालिका कार्यालयमाथी आक्रमण गरेका थिए । –जनकपुरटुडे पत्रिका