जनकपुरधाम ः कमला नदीको बाढीले बगाएको बाध मर्मतकालागि प्रदेश सरकारले समेत बजेट उपलब्ध गराउने भएको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले कमलाको बाध मर्मतकालागि प्रदेश सरकारले ५० लाख बजेट उपलब्ध गराउने बताएका छन् ।
प्रदेश विपत कोषबाट कमला नदीले कटान गरेको बाध मर्मतकालागि ५० लाख बजेट उपलब्ध गराउने प्रक्रिया अगाडी बढाइएको साहले बताए । कमला बाध भत्कीएर जनधनको क्षति हुने अवस्था आएपछि संघिय सरकारले ५० लाख उपलब्ध गराएको रकम अपुग रहेकोले तत्कालकालागि प्रदेश विपत व्यवस्थापनबाट ५० लाख बजेट उपलब्ध गराउने प्रक्रिया अगाडी बढाएका छौ, उनले भने ।
मर्मतकालागि मात्रै ५० लाख दिएको हो, मन्त्री साहले भने,‘निरन्तरको वर्षाका कारण बाध बनाउने अवस्था छैन । तत्काल बाढी बस्तीमा प्रवेश गर्न नदिएर धनजनको क्षतिहुनबाट बचाउन बाध मर्मत मात्रै सम्भव छ ।’ वर्षा सकिएपछि कमलाको बाध स्थायि रुपले निर्माण हुनेछ, उनले भने । धनुषाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा र विपत व्यवस्थापन समितिलाई बजेट उपलब्ध गराउने मन्त्री साहले बताए ।
कमला नदीले बाध कटान गरेपछिको अवस्थाबारे जानकारी लिन धनुषाका प्रमुख जिल्ला अधिकारी सहितका टोलीलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा भेटघाटपछि प्रदेश सरकारले बजेट उपलब्ध गराएको हो । एक साता अधि निरन्तरको वर्षाले कमलामा आएको बाढीले धनुषा तर्फ किरतपुर र पटेर्वामा बाध कटान गरेको छ ।
बाध कटान गरी बस्ती क्षेत्रमा बाढी पस्ने जोखिम भएपछि संघिय सरकारले ५० लाख बजेट उपलब्ध गराएको थियो । संघिय सरकारले बजेट उपलब्ध गराएपछि बाध मर्मतका काम भइरहेको धनुषाको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए । किरतपुर र पटेर्वा गरी बाढीले ११ सय मिटर बाध बाढीले बगाएको कमला नदी नियन्त्रण आयोजना कार्यलाका प्रमुख एकराज भट्टराइले बताए ।
बाध बगेर बस्तीमा बाढी प्रवेश गर्न नदिन पहिलो चरणमा काम भइरहेको उनले बताए । –जनकपुरटुडे पत्रिका