Thursday 10th of October 2024

सर्लाहीमा विद्युत् कटौतिको विरोधमा प्रदर्शन, स्थानीयद्धारा राजमार्ग अवरुद्ध

0 Shares

सर्लाही :  केही दिनदेखि लगातार हुने गरेको विद्युत् कटौती र कम भोल्टेजले आजित भएका स्थानीयले सर्लाहीको हरिवनमा प्रदर्शन गरेका छन् ।

विद्युत् प्राधिकरणको लापरबाहीविरुद्ध बिहीबार पूर्वपश्चिम राजमार्गमा १० मिनेट चक्काजाम गर्दै स्थानीयले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

सर्लाहीमा एक घण्टामै चार-पाँचपटक विजुली जाने समस्या छ । लामो समयदेखिको यो समस्या समाधानमा प्राधिरणले चासो नदिएपछि बाध्य भएर सडकमा उत्रनुपरेको स्थानीयले बताएका छन् ।

सर्लाहीमा अघोषित लोडसेडिङको रुपमा रहेको विद्युत् कटौती र कम भोल्टेज आउने समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानीयले विद्युत प्राधिकरणको लालबन्दी प्रशाखालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

समस्या समाधानमा चासो नदिए प्राधिकरणविरुद्ध चरणवद्ध संघर्षमा उत्रने चेताबनीसमेत स्थानीयले दिएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत् प्राधिरणलाई ज्ञापनपत्र बुझाइएको हो ।

प्राधिकरण लालबन्दी प्रशाखाका प्रमुख सुधिर रायले भने ढल्केवर ग्रीडको सवस्टेशनको ३० एमविए पावर ट्रान्सफर्मर बिग्रेको कारण सर्लाहीको विद्युत आपुर्तीमा समस्या आएको बताए । ढल्केवर ग्रिडमा समस्या आएपछि हाल सर्लाहीमा रौतहटको चन्द्रनिगहापुर ग्रिड सवस्टेशनबाट विद्युत आपुर्ती हुँदै आएको छ । जसको कारण सर्लाहीमा भोल्टेजको समस्या भएको उनको भनाइ छ ।

‘ढल्केवरको बिग्रेको ट्रान्सफर्मर मर्मत गर्न अझै करिब १५ दिन जति लाग्ला,’ उनले भने, ‘त्यतिन्जेलसम्म सर्लाहीमा विद्युत् आपुर्तीमा केही समस्या रहिरहन्छ । हामी जतिसक्दो चाँडो यो समस्या समाधान गर्ने कोसिस गरिरहेका छौँ ।’

प्राधिकरणले गएको मंगलबार सूचना जारी गरेर विद्युत् आपुर्तीमा भइरहेको समस्याको विषयमा जानकारी गराएको थियो ।

प्रतिक्रिया