जनकपुरधाम : धनुषा प्रहरीको हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु भएको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेको हो ।
उनले शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीले पासो लगाई आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।
बिहान साढे ४ बजेतिर शौचालयमा झुण्डेको अवस्थामा शव फेला परेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
भाइसंगको अपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धारौटीमा छाड्न आदेश दिएको थियो ।
तर आर्थिक अवस्था दयनीय भएको कारण धरौटी बुझाउन नसक्दा अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो । कारागार लैजानकै लागि हिरासतमा राखिएका रविदास तनावमा आत्महत्या गरेको प्रहरीको अनुमान छ ।
परिवारनले पल्टुको हत्या भएको दावी गर्दै घटनाको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । मानवअधिकारकर्मीहरुले घटनास्थलको बिहानै अबलोकन गरेका छन् । साभारः टुडेपाटी