Tuesday 14th of January 2025

सुजिता ठाकुर हत्या प्रकरण : बाबु कामेश्वर पाण्डेयसहित थप तीनजना पक्राउ, यस्तो छ हत्याको कारण !

0 Shares

महोत्तरी : महोत्तरीकी सुजिता हत्या प्रकरणमा बाबु कामेश्वर पाण्डेयसहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुजिता हत्यामा संलग्नता देखिएपछि बाबु पाण्डेयलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीय प्रमोद मण्डललाई पक्राउ गरेको हो ।

सुजिता ठाकुर हत्यामा उनका बाबु पाण्डेयकोसमेत संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

एसपी आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देबर रुपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

‘बाबु कामेश्वर र देवर रुपेशकै मिलोमतोमा सुजिताको हत्या गरिएको खुलेको छ,’ आचार्यले भने,‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ ।’

पटकपटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको उनले बताए ।

‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन । त्यसलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको पाइयो,’ एसपी आचार्यले भने,‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’

रुपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ ।

यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मद्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म उनका देवर रुपेशसहित सात जनालाई पक्राउ गरिसकेको एसपी आचार्यले बताए ।

यसरी गरिएको थियो सुजिताको हत्या

गत जेठ २० गते विहान करिब ८–९ बजेको बीचमा देवर रुपेश ठाकुरले सुजिता देवी ठाकुरको कोठा भित्र प्रवेश गरी घिच्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाई घाटी समेत थिची हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताईएको छ ।

हत्या गरी दिनभरी शवलाई सुजिता कै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेको र सोही दिन सांझ निजको ससुरा पतिराम ठाकुरको घर देखि करीव १ कि.मी.दक्षिणमा रहेको खेतमा खाल्टो खनि रातीको ०८ः३० देखी ०९ः०० बजेको समयमा आफनै ट्याक्टरमा मृतकको शव राखी खेतसम्म पुर्‍याई गाडेर भोली पल्ट जेठ २१ गते शव गाडेको खेतमा खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो ।

पछि शव गाडेको सम्बन्धमा हल्ला भएपछि उनिहरुले जेठ २० गते राती गाडेको शवलाई जेठ २९ गते मध्यराती पुनः खनेर निकाली पतिराम ठाकुर कै घरदेखि अन्दाजी ५०० मिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोलपम्पसंग जोडिएको निज कै काठको गोलियाहरु राख्ने चिरान गोदामको जग्गाको उत्तरतर्फको भागमा रहेको निर्माणाधिन सेफ्टि ट्याङकीमा ४ फिट गहिरो खाडल खनि शव पुनः गाडी ६ ईन्च मोटो ढलान गरी माथिल्लो भागमा मसला (सपेता) का काठका गोलियाहरू राखी सेफ्टी ट्याङकी बाहिरबाट अरूले नदेखिने गरी ढाकेको थियो ।

जेठ २९ गते शव स्थानान्तरण पश्चात शव गाडिएको पहिलेको स्थानमा (खेतमा) भोलीपल्ट मिति जेठ ३० गते पुनः खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो ।

प्रतिक्रिया