राजनीतिक पावर : १ जना करार कर्मचारीलाई ३ वटा शाखाको जिम्मेवारी

 शुभनारायण यादव, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एक जना करार कर्मचारीलाई तीन वटा शाखाको जिम्मेवारी दिइएको छ ।

पालिकाका करार कर्मचारी राजेशकुमार झाले पालिकाको सूचना अधिकारीको पदसँगै विपद जोखिम न्युनिकरण अधिकृत र शिक्षा शाखा प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको हो । राजनीतिक पहुँचका आधारमा उहाँलाई तीन वटा जिम्मेवारी दिइएको आरोप लाग्ने गरेको छ । उहाँ कर्मचारी भएर पनि खुलेर राजनीति गरिरहेको गाउँपालिकाकै उपाध्यक्ष सुचिता यादवको भनाइ छ ।

यस्तै झा ठेक्कापट्टा गर्ने तथा गैरसरकारी क्षेत्रमा पनि संलग्न हुने र विभिन्न संघ संस्थाबाट रकम उठाउने प्रतिनिधिको रूपमा  पनि काम गर्दै आएको आरोप उहाँमाथि छ । बाल केन्द्रीत विपद जोखिम कार्यक्रममार्फत गाउँपालिकाको कार्यालय प्रवेश गर्नुभएका झा अहिले त्यो कार्यक्रम बन्द भइसकेपछि पनि त्यहीँ अरु पदमा रहेर काम गरिरहनुभएको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहसँग मिलेर उहाँले एकमाथि अर्को जिम्मेवारी लिएको बताइएको छ ।

राजेशकुमार झाले २०७६/२०७७ मा गाउँपालिकाबाट बीस लाख रुपैयाँ पेस्की रकम समेत उठाउनु भएको लेखा कागजमा लिखित समावेश गरिएको  छ ।

तिलाठी कोइलाडी  गाउँपालिकामा नियम विपरीत  कर्मचारी  नियुक्ति  गरिएको स्थानीयहरु बताउँछन् । पालिकामा आफ्नो ‘फेवर’का कर्मचारी भर्ती गरेर उनीहरुमार्फत भ्रष्टाचार गराउने गरिएको स्थानीय निशान्त सिंह बताउनुहुन्छ ।


यो न्यूज उज्यालो अनलाईनबाट लिएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार