Wednesday 24th of July 2024

प्रदेश २ का चार जिल्लामा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला

0 Shares

काठमाडौं :  जनता समाजवादी पार्टीको आधिकारिकता नपाएपछि महन्थ ठाकुर पक्षले प्रदेश २ का चार जिल्लामा अगुवा कार्यकर्ता भेला गरेका छन् ।

जनता समाजवादी पार्टीकै ब्यानर तथा अध्यक्षकै हैसियतमा ठाकुरले महोत्तरीको सदरमुकाम जलेश्वरमा अगुवा कार्यकर्ता भेला गरेका छन् ।

महोत्तरीको प्रदेश सभा सदस्य तथा ठाकुर निकट नेता अभिराम शर्माका अनुसार अहिले पनि जारी रहेको उक्त भेलामा जसपाका नेता तथा प्रतिनिधि सभा सदस्य शरतसिंह भण्डारी, निर्जला राउत, प्रदेश सभा सदस्य जानकी शरण साह, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेशकुमार सिंह, विभिन्न स्थानीय तहका मेयर, उपमेयर, वडाध्यक्षलगायतका प्रतिनिधिसहित अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति छ ।

त्यसै गरी राजेन्द्र महतोले सप्तरीको राजविराजमा अगुवा कार्यकर्ता भेलाको नेतृत्व गरेका छन् । राजविराजमा सञ्चालित कार्यक्रममा उपस्थित भएका जसपाका नेता केशव झाका अनुसार उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेखर सिंह, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, जसपा नेता राजीब झा लगायतका नेताहरू उपस्थित छन् ।

‘अहिलेको परिस्थितिबारे जानकारी गराउनेदेखि आगामी दिनमा के कसरी जाने भन्ने विषयमा अगुवा नेता तथा कार्यकर्ताको फिडब्याक लिने काम भइरहेको छ,’ जसपा नेता झाले भने ।

त्यसै गरी सिरहामा जसपाका नेता तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झाको नेतृत्वमा अगुवा कार्यकर्ता भेला जारी छ । प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया, जसपा नेता डा . सुरेन्द्रकुमार झा, प्रदेश सभा सदस्य जयनुल राइन लगायतका नेता उपस्थित छन् ।

त्यसै गरी बारामा समेत प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्णको नेतृत्वमा भइरहेको भेलामा प्रदेश सभा सदस्य जितेन्द्र सोनल, प्रदेश सभा सदस्य बाबुलाल साह, रमेश पटेल उपस्थित छन् ।

प्रतिक्रिया