Saturday 20th of July 2024

त्यो जुँगे युग !

0 Shares

जुँगा ‘सान’ र ‘प्रतिष्ठा’को प्रतीक कसरी ?


बद्रीनारायण यादव (६३) नेपाल रेडक्रस सोसाइटी इनर्वाका सभापति हुन् । दुई छोरा र एक छोरीका पिता यादवलाई गाउँलेले ‘मोछ वाला’ (जुँगा वाला) नामै राखिदिएका छन् । खेती–किसानी गर्ने बद्रीनारायणले जुँगा पाल्न थालेको दशौँ वर्ष भइसक्यो । बिस्तारै आफ्नो परिचय नै ‘मोछ वाला’ भएपछि उनले जुँगा राखिरहे । भन्छन्, ‘आमा बित्दा एकपटक काटेँ । त्यसवेला नराम्रो देखियो । अनि फेरि पाल्न थालेँ ।’

सिराहा नगरपालिका–२ का ७३ वर्षीय उत्तिमलाल यादवले पनि जुँगा पालेका छन् । जुंगा पाल्नु आफ्नो रहर भएको उनको भनाइ छ । तीन छोरा र दुई छोरीका पिता यादवले जुँगा कटाउँदा मुख नै नराम्रो लागेको सुनाए । उनी भन्छन्, ‘जुँगा राम्रो बनाउन हातले स्याहार्नुपर्छ ।’

सिराहाकै सुखीपुर नगरपालिका–१ मोहनपुर कमलपुरका ७५ वर्षीय रामचन्द्र यादवले पनि जुँगा राखेका छन् । पूर्वप्रधानपञ्चसमेत रहेका यादव भन्छन्, ‘जुँगा मर्दको सान हो ।’ उनी २०४६ सालतिर प्रधानपञ्च भएका थिए । यादवले आफूलाई जुँगा पाल्ने सोख रहेको सुनाए ।

चन्दर यादव (६३) धनुषाको कमला नगरपालिकाको सिंग्याही मरान हथमुन्डाका हुन् । यादव पनि सोखले जुँगा पालेको बताउँछन् । भन्छन्, ‘जोगाक राखी त मोछ, नही त लुखियाके पोछ ।’ अर्थात् स्याहार ग¥यो भने राम्रो जुँगा, होइन भने लुखियाको पोछ (लोखर्केको पुच्छर) हुन्छ । औरही गाउँपालिका ५ का ६० वर्षीय रामचन्द्र यादवले पनि सोखले जुँगा पालेको बताउँछन् । किसानी गर्दै आएका रामचन्द्रको कुरा उही छ, ‘सोखले जुँगा पालेको हुँ ।’

०००

माथिका पात्रहरू केही उदाहरण मात्र हुन् । उनीहरूको जुँगा पाल्ने सोख छ । एक समय मधेसमा ‘सान’, ‘सौकत’, ‘प्रतिष्ठा’ र ‘ताकत’ देखाउन भन्दै जुँगा पाल्ने चलन थियो । जुँगाका अनेक थरी आहान छन्, जसको चर्चा वेलावेला हुने गर्छ । चुनौती दिनुपर्दा ‘जुँगा उखेल्ने’, सामाजिक अपहेलना गर्दा ‘जुँगा कटाइदियो’, प्रोत्साहन दिन ‘जुँगाको मर्यादा राख्नु’, प्रतिस्पर्धा गर्दा ‘जुँगाको लडाइँ’, संकल्पअनुसार काम नहुँदा ‘जुँगा कटाइदियो’ (मोछ गिरादेलक)’, अड्डा अदालतमा पराजित भएमा वा कमजोर आँक्दा ‘जुँगा काटेर लेऊ’ (मोछ कटा लेलक)जस्ता भनाइहरू प्रचलनमा थियो । मधेसमा मोछलाई ‘मर्यादा’को रूपमा हेर्ने चलन थियो । जुँगा मूलतः पितृसत्तात्मक समाजमा पुरुष वर्चस्वको संकेत नै थियो । सामाजिक संरचनाभित्र जुँगालाई परिवार र व्यक्तिको अस्तित्व, पहिचान र प्रभुत्वसँग जोडेर हेरिन्थ्यो । अझ सामन्ती समाजमा अरूभन्दा पृथक देखिन र आफूलाई पराक्रमी देखाउन पनि मोछ पाल्ने चलन थियो ।

लैंगिकताका आधारमा हेर्ने हो भने एउटा भनाइ खुब चर्चामा थियो, ‘मोछ देखक दुब जरैय’ अर्थात् जुँगा देखेर दुबो जल्छ । यसको अर्थ सामान्तहरूको जुँगा देखेर कमजोर वर्ग, शोषित समुदाय र महिलाहरू डराउँछन् । मधेसमा पितृसत्तात्मक सामन्ती समाज भएकाले जुँगाको त्रास व्यापक थियो । ऊ वेला विशेषतः दरोगा (प्रहरी), पहलवान, दरबान, चौकीदारहरूले जुँगा पाल्थे ।

लोकगाथामा जुँगा 

मधेसी लोकगाथाका महानायक सलहेश र दीनाबद्री हुन् । उनीहरूको प्रतिमामा सुन्दर र आकर्षक जुँगा बनाएको देखिन्छ । छैटौँ/सातौँ शताब्दीताका सिराहाको महिसौथामा जन्मिएका सलहेशको लोकगाथा नेपाल र भारतमा प्रसिद्ध छ । सलहेशको जुँगासहितका मूर्ति दलित समुदायको बस्ती छेउछाउ देखिन्छ । यता मुसहर समुदायका कुलदेवता रहेको दीनाबद्रीको मूर्तिमा पनि जुँगा देखिन्छ । त्यही भएर अहिले मञ्चन हुने लोकनाच सलहेश र दीनाभद्री, अल्हा रुदलका मुख्य अभिनेताहरूले आकर्षक जुँगा राख्ने गरेका छन् ।

इतिहासमा तानाशाहदेखि क्रान्तिकारी, नेता, अभिनेता, वैज्ञानिक, खेलाडीले आकर्षक जुँगा पालेको देखिन्छ । जर्मन तानाशाह हिटलर, भारत आजादमा जुटेका भगतसिंह, महाराना प्रताप, रनवीर सिंहलगायतको जुँगा पनि कुनै समय निकै चर्चामा थियो । इस्ट इन्डिया कम्पनीमा कार्यरत कर्मचारीहरूले जुँगालाई लामो, बाक्लो र कडा पार्न मैन प्रयोग गर्थे । यिनै परिवेशबाट मधेसमा पनि पुरुषहरूले लामा–लामा जुँगा राख्न थालेको हुन सक्छ ।

पछिल्लो समय मधेसमा जुँगा पाल्ने, जुँगालाई ‘सान’ र ‘प्रतिष्ठा’को विषय बनाउने सोचमा केही बदलाव आएको देखिन्छ । जुँगामा अल्झिएको ‘सान’ क्रमशः खस्किँदै गएको देखिन्छ । यो समाज रूपान्तरणको सकारात्मक संकेत हो ? वा के हो ? यसबारे खोतल्नै बाँकी छ ।

पछिल्लो समय मधेसमा जुँगा पाल्ने, जुँगालाई ‘सान’ र ‘प्रतिष्ठा’को विषय बनाएर धाकधक्कु लगाएर हिँड्ने सोचमा केही बदलाव आएको देखिन्छ । जुँगामा अल्झिएको ‘सान’ क्रमशः खस्किँदै गएको देखिन्छ । यो समाज हरूपान्तरणको सकारात्मक संकेत हो वा जुँगाप्रति मानिसको रुचिमा परिवर्तन आएको हो, त्यो भने खोतल्नै बाँकी छ ।

हिजोआज युवा पुस्ता अघिल्लो पुस्ताले जस्तो लामो जुँगा पालेर हिँडेको देखिन्न । युवाहरू जुँगा त पाल्छन्, तर त्यसमा नयाँ डिजाइन थप्छन् । मधेसी युवामाझ स्टाइलिस जुँगा बनाउने होडबाजी भने वेलावेलामा चल्ने गर्छ । तर, उनीहरू बाउबाजेले जस्तो कसैलाई दमन गर्न, सान देखाउनुभन्दा पनि स्टाइलिस हुन जुँगालाई थरीथरीको भंगीमा ढाल्छन् । युवा पुस्तामाझ जुँगा मोह कम भएकोबारे प्राध्यापक चन्देश्वरप्रसाद यादव भन्छन्, ‘युवामाझ शिक्षा र चेतना पुगेपछि त्यो अहमता क्रमशः घटेको हुन सक्छ ।’

विभेदको प्रतीक

पुरुष वर्चस्व रहेको हिन्दू समाजमा जुँगा र मुस्लिम समुदायमा दाह्रीको महत्व  बढी देखिन्छ । जुँगा पाल्ने पुरुष ‘शक्तिशाली’ कम जुँगा नआउने पुरुष ‘कम शक्तिशाली’, अझ जुँगै नआउने महिला त झनै ‘कमजोर’ हुन्छन् भन्ने मनोविज्ञान समाजमा छरिदियो । जुँगा एकप्रकारले ‘शक्तिशाली’ र ‘शक्तिहीन’को प्रतीकजस्तो पनि बन्यो । तर, यो सोच मधेसी समाजबाट क्रमशः हराउँदै गएको छ । यस्तो ‘जुँगे युग’को समाप्त हुन अनिवार्य छ नै ।

तर, अझै पनि मधेसी समाजमा हरेक काममा महिला अगाडि बढ्यो भने पुरुषहरू सोच्छन्, ‘महिलाले जुँगा काटिदियो ।’ (मोछ गिरादेलक) यस्तो सोच सरासर गलत भएको अधिकारकर्मी देवकुमारी महराको भनाइ छ । ‘महिला–पुरुष बराबरी हो भन्ने बुझाउन मधेसमा केही समय त लाग्छ नै । तर, अब जुँगा भनेको ‘सान’ र ‘प्रतिष्ठाको प्रतीक हो भन्ने झुटो धारणा हराउँदै छ,’ महरा भन्छिन्, ‘पितृसत्ताले स्थापना गरेको यस्तो गलत सोच महिलाहरू जाग्न थालेपछि आफै निरीह हुँदै गएको छ ।’ –नयाँ पत्रिका

प्रतिक्रिया