बर्दिबासमा फेरी वन अतिक्रमण, एक वर्ष न पुगदै अर्को घटना सार्वजनिक

महोत्तरी : महोत्तरीको बर्दिवासमा रम्तेलडाँडा वन अतिक्रमणको एक वर्ष ननाघ्दै अर्को अतिक्रमणको घटना सार्वजनिक भएको छ ।

पछिल्लो पटक बर्दिबास नगरपालिका–१ र ३ मा पर्ने चिहानडाँडा सामुदायिक वनको पानीखोल्सीको मुहान नै थुनेर वन अतिक्रमण भएको घटना सार्वजनिक भएको हो । बर्दिबास–३ का बासिन्दा हरि बस्नेतले वन क्षेत्रभित्रको जरुवा पानीको मुहान रहेको पानी खोल्सीको करिब दुई कठ्ठा जग्गा अतिक्रमण गरेको बताइएको छ ।

सवडिभिजन वन कार्यालय बर्दिवास, चिहानडाँडा सामुदायिक वन र बर्दिवास नगरपालिकाका पदाधिकारी तथा प्रतिनिधिले अतिक्रमित क्षेत्रको अनुगमन गरी अतिक्रमण हटाएका छन् । “बस्नेतले पानीखोल्सीको मुहान नै थुनेर करिब दुई कठ्ठा वनक्षेत्रको जग्गा बिराएर खेत बनाएका रहेछन्” चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपानेले भने, “हामीले सवडिभिजन वन कार्यालय, नगरकार्यपालिका र सामुदायिक वन उपभोक्ता समितिका तर्फबाट अनुगमन गरेर अतिक्रमण हटाएका छौँ ।” अब समितिका आम उपभोक्ताको भेलाबाट अतिक्रमण गर्ने बस्नेतविरुद्ध कार्वाही थालिने न्यौपानेको भनाइ छ ।

नगरक्षेत्रमा वन र अन्य सार्वजनिक जग्गा निकै हड्पिएको भएपनि यसको खोजीनीतिमा सम्वद्ध नगरपालिका र वनसम्वद्ध कार्यालयले चासो नदिएका यस भेगका सर्वसाधारण बताउँछन् । भर्खरै विघटित आयोगले अन्तिम पटकका लागि भन्दै १० वर्षदेखि जोतखन र घर बनाइ बसेकालाई जग्गाधनी प्रमाणपुर्जा दिने नीति सार्वजनिक गरेपछि बर्दिबास–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रमै सात हेक्टरभन्दा बढी जग्गा अतिक्रमण भएको छ ।

वनक्षेत्र उजाडेर जग्गा हड्पिनेमा राजनीतिक दलका उपल्लो तहका नेता, साँसद, उच्चपदस्थ कर्मचारी र टाठाबाठा भूमाफियाहरू रहेकाले वनसम्वद्ध कार्यालयले यसको खोजीनीति नगरेको बर्दिबास–१४ का सामाजिक कार्यकर्ता हरि दाहाल बताउँछन् ।

बर्दिवास–१ मा गतवर्ष मात्रै रम्तेलडाँडा सामुदायिक वनको करिब पाँच हेक्टर जग्गाको वन फाँडेर अतिक्रमण भएको थियो । सो घटनाको बर्दिवासवासीले चर्को विरोध गरेर दिनहुँ वन अतिक्रमण विरुद्ध प्रदर्शन गरेपछि अतिक्रमणकारी विरुद्ध मुद्दा चलेको थियो तर सो मुद्दाका प्रतिवादी सामान्य रकम धरौटी राखेर फर्केका छन् । अतिक्रमण विरुद्ध फितलो कारवाहीले भूमाफियाको मनोवल नतोडिएको यहाँका सर्वसाधारण बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार