जनकपुरधाम : प्रदेश नंं २ मा कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा निरन्तर रुपमा कमी आइरहेको छ । कोरोना महामारीका कारणले रोकिएका सेवाहरू सुचारु भएर भिडभाड बढे पनि कोरोनाको सङ्क्रमणको दर तुलनात्मक रुपमा कम रहेको छ ।
प्रदेश भरिमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले आएर ३ सय ४१ मा झरेको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो । कोरोनाको जोखिम अहिले पनि यथावत् रहेको भए पनि कुनै पनि जिल्लामा ८० भन्दा बढी कोरोनाका संक्रमित नरहेको निर्देशनालयले जनाएको छ ।
कुनै बेला प्रदेश २ कोरोनाका लागि हट स्पट बने पनि अहिले निकै कम भएको चिकित्सकहरूको भनाइ छ ।
अहिले प्रदेशका अधिकांश जिल्लामा भाइरल ज्वरोको प्रकोप देखिए पनि पि सि आर परीक्षण गर्दा अधिकांशको परीक्षण रिपोर्ट नेगेटिभ आउने गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले जनाएको छ ।