रौतहट : रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
चन्द्रपुर नगरपालिका–१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको छ ।
बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना ५ च ३१६६ नम्बरको गाडी सडकभन्दा ५० मिटर तल नहरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जना तीर्थालुको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बिहान ४ बजे भएको दुर्घटनामा परेर बारा गढिमाईकी ४५ वर्षीया मीना देवी कोइरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
दुर्घटनामा परेकी एक महिला हराइरहेको तथा पाँच जना घाइतेलाई उपचारका लागि चन्द्रपुर पठाएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ४ बजे रौतहट चन्द्रपुर– १ नुनथर जाने बाटो को नहरमा दुर्घटना भएको हो ।
नहरमा खसेका १३ जनाको प्रहरीले उद्धार गरेको छ । गाडीमा करिब २० जना सवार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।