Saturday 14th of December 2024

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त, आज पदबहाली गर्ने

0 Shares
काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ।

घिसिङले बुधबार पदबहाली गर्ने जनाइएको छ।

यसअघि मन्त्री भुसालले कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा दिन आग्रह गरेको समाचार बाहिरिएको थियो। तर, शाक्यले भने पछि पत्रकार सम्मेलन गरी आफूलाई राजीनामा दिन नभनेको उल्लेख गर्दै सरकारले उपयुक्त ठाउँमा जिम्मेवारी दिए प्राधिकरण नेतृत्व छाड्न तयार रहेको बताएका थिए।

घिसिङको अघिल्लो कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो। त्यतिबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने जनआवाज उठे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ महिनापछि शाक्यलाई नियुक्त गरेका थिए।

प्रतिक्रिया