राजेन्द्रलाई बोकेर हिँड्दा महन्थमा ‘विचलन’!

काठमाडौं : निर्वाचन आयोगबाट आधिकारिकता गुमाएपछि जनता समाजवादी पार्टी (जसपा) नेता महन्थ ठाकुर अहिले मधेशका जिल्ला दौडाहामा छन्।

ठाकुरका साथै उनीपक्षीय राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारीलगायतका नेताहरू जिल्ला–जिल्ला पुगेर कार्यकर्ता भेलामा जुटेका छन्।

साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिने निर्णय ग¥यो। र, त्यसको ११ दिनसम्म ठाकुर मौन बसे। उपेन्द्र पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा दायर गरेको रिटको फैसला कुर्नुबाहेक ठाकुरसँग अर्को विकल्प बाँकी थिएन।

ठाकुरले सोचेजस्तो आयोगको निर्णय खारेज गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदियो। राजनीतिक जीवनको उत्तरार्द्धमा पछिल्लो समय एकपछि अर्को ठक्करले ‘निराश’ बन्दै गएका उनी अन्ततः जिल्ला–जिल्ला पुगेर अगुवा कार्यकर्ता भेटेर भलाकुसारी गर्ने निर्क्याेलमा पुगे।

र, साउन २२ गतेदेखि सुरू हुने अगुवा कार्यकर्ता भेलाको औचित्य र उद्देश्य प्रष्ट्याउन जसपा अध्यक्षकै हैसियतमा ठाकुरले वक्तव्य जारी गरे। साउन २२ गते महोत्तरीको जलेश्वर र २३ गते जनकपुरको अगुवा कार्यकर्ता भेलामा सहभागी भएर आइतबार काठमाडौं फर्किए।

जनकपुरमै रहेका उनका विश्वासपात्र जसपा नेता वृषेशचन्द्र लाल र डा.विजयकुमार सिंह कार्यक्रममा सहभागी नभएपछि ठाकुरलाई ‘धक्का’ लाग्यो।

कार्यक्रममा सहभागी हुन लाललाई ठाकुर आफैंले पटक–पटक फोन गरेका थिए। तर, लालले फोन उठाइदिएनन्। तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष लाल र महासचिव डा.सिंह ठाकुरका विश्वासपात्र हुन्। लाल र सिंहका साथै तत्कालीन तमलोपाका दर्जनौं नेताहरू ठाकुरको पछिल्लो गतिविधिबाट असन्तुष्ट बनेका छन्।

आफ्नै पुराना साथीहरूको असन्तुष्टिको सामना गरिरहेका ठाकुरलाई सोमबार निर्वाचन आयोगले अर्को ‘धक्का’ दिएको छ। निर्वाचन आयोगको पछिल्लो निर्णयपछि उनले अध्यक्षमात्रै होइन जसपा केन्द्रीय कार्यकारिणी सदस्यको हैसियतसमेत गुमाइसकेका छन्। र, जसपाको साधारण सदस्यको हैसियतमा झरिसकेका छन्, ठाकुर।

राजेन्द्र महतोलाई बोक्दा विचलन

इमानदार नेताका छवि बनाएका ठाकुर साधारण सदस्यको हैसियतमा झरेपछि उनीनिकट नेता कार्यकर्ताहरूमा विचलन देखिन थालिएको छ। पछिल्ला राजनीतिक घटनाक्रमपछि ठाकुरका साथै उनका निकटस्थ नेता कार्यकर्ताहरू पनि निरास बन्दै गएका छन्।

तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका नेता कार्यकर्तालाई किनारा लगाउँदै अदूरदृष्टि भएका राजेन्द्र महतोलाई बोकेर हिँड्दै गएपछि राजनीतिक जीवनको उत्तराद्र्धमा ठाकुर अपमानित हुनुपरेको उनीनिकट नेता कार्यकर्ताहरूको विश्लेषण छ।

र, यसबारे तीन दिनअघि जनकपुर पुगेका ठाकुरलाई त्यहाँका स्थानीय नेता कार्यकर्ताले गुनासोसमेत गरेका छन्। जनकपुरको कार्यक्रमपछि ठाकुरसँग छुट्टै भेटेका स्थानीय नेता कार्यकर्ताले पुराना नेताहरूलाई छोडेर हिँड्दा अहिले अपमानित हुनुपर्ने अवस्था आएको ठाकुरलाई बताएका थिए।

‘पुराना साथीलाई छोडेर अहिले राजेन्द्र महतोलाई बोकेर हिँडिरहनु भएको हामीले अनुभव गरेका छौं,’ ठाकुरसँग गुनासो पोखेका जनकपुरका एक नेताले भने,‘नेता कार्यकर्ताको ठूलो समूहनै निराश भएको उहाँलाई भनेका छौं।’

सँगै बसेकाहरूको गलत सल्लाह मानेर निर्णय गर्दा अहिले समस्या निम्तिएको ठाकुरसँग उनीहरूको गुनासो थियो।

‘तपाईंका आसेपासेले गर्दा पनि समस्या सिर्जना गरेको छ। तपाईंसँगै बसेकाहरू कतिपयले अरूका लागि काम गरिरहेका छन्,’ उनीहरूले ठाकुरलाई भनेका थिए।

आफूहरूले पोखेको गुनासोबारे ठाकुर सकारात्मक देखिएको ती नेताको भनाइ छ।

‘मसँगै बसेर पनि अरूका लागि काम गरिरहेको अनभूति मैले पनि गरेको छु। यसलाई चाँडै सच्याइन्छ,’ ठाकुरको भनाइ उद्धृत गर्दै ती नेताले भने।

पार्टीभित्र बाँडफाँडको परिपाटीले पनि ठूलो क्षति पु¥याएको गुनासो उनीहरूले ठाकुरसँग गरेका छन्।

‘भागबण्डामा ठूलो हिस्सा पाएका नेताहरूको साथ सबैले छोडिसकेका छन्,’ ती नेताले भने,‘असन्तुष्ट भए पनि तपाईंको साथ कसैले छोडेका छैनन्। सबै तपाईंसँगै छन्। त्यसैले पुराना साथीहरूलाई लिएर अगाडि बढ्नु नै उपयुक्त हुन्छ भनेर हामीले भनेका छौं’

अबको विकल्प नयाँ पार्टी

आधिकारिकतापछि अध्यक्षको हैसियत गुमाइसकेका ठाकुरसामु अब दुई विकल्पमात्र छ। पहिलो साधारण सदस्यको हैसियतमा जसपाभित्रै बस्ने र दोस्रो नयाँ पार्टी दर्ता गराएर अगाडि बढ्ने। पहिलो विकल्पका लागि उनका निकटस्थहरू तयार छैनन्।

अपमानित भएर जसपाभित्र बस्नुभन्दा दोस्रो विकल्प रोज्न ठाकुरनिकट नेता कार्यकर्ताहरूको राय छ। तर, यसका लागि तत्कालीन राजपाजस्तो अध्यक्षमण्डलीय प्रणाली खारेज हुनुपर्ने शर्त उनीहरूले राखेका छन्।

‘अध्यक्षमण्डलीय प्रणाली राजपामा सफल हुनसकेन। जसपामा पनि दुई अध्यक्षको व्यवस्था असफल भयो,’ ठाकुरले उनीहरूले भनेका थिए,‘त्यसैले एकल अध्यक्ष र सामूहिक निर्णयको आधारमा पार्टी सञ्चालन हुनुपर्‍यो।’

जसपाविवादकै क्रममा ठाकुरनिकट ज्ञानेन्द्रकुमार झाले लोकतान्त्रिक समाजवादी पार्टी र अजय झाले राजपा नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

यसैगरी ठाकुरसँग असन्तुष्ट बनेका लाल र सिंहनिकट रविशंकर कुमार कर्णको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी दर्ताका लागि आयोगमा आवेदन परेको छ।

नयाँ पार्टीका दर्ता गर्ने अवस्था आए ठाकुर ज्ञानेन्द्रकुमार झाले दर्ता गराएको लोकतान्त्रिक समाजवादी पार्टीलाई अगाडि बढाउन चाहन्छन्।
तर, आयोगमा दर्ताका लागि निवेदन परेको त्यस पार्टीको विधानमा पनि अध्यक्षमण्डलीय प्रणालीको परिकल्पना गरिएको भन्दै ठाकुरनिकट नेता कार्यकर्ताहरूले सचेत गराएका छन्।

‘हामीले विधान त हेरेका छैनौं। तर, आयोगमा दर्ताका लागि पुगेको त्यस पार्टीमा पनि अध्यक्षमण्डलीय प्रणालीको परिकल्पना गरिएको छ। त्यो हामीलाई स्वीकार्य हुँदैन,’ उनीहरूले ठाकुरलाई भनेका छन्।

जवाफमा ठाकुरले अब बन्ने पार्टीमा एकल अध्यक्षमात्र हुने कार्यकर्ताहरूलाई विश्वास दिलाएका छन्।

‘तपाईंहरू ढुक्क भएर बस्नुस् अब बन्ने पार्टीमा एकल अध्यक्षमात्र हुन्छ,’ ठाकुरको भनाइ उदृत गर्दै ती नेताले भने,‘लोकतान्त्रिक समाजवादी पार्टीको विधानमा दुई अध्यक्षको परिकल्पना गरिएको छ भने तराई मधेश लोकतान्त्रिक पार्टी पनि दर्ता प्रक्रियामा छ। त्यसैलाई अगाडि बढाइन्छ।’

तर, नयाँ पार्टी खोलेर अगाडि बढ्दा आफूपक्षीय संघीय सांसद, प्रदेश सांसदका साथै स्थानीय तहका जनप्रतिनिधिहरूको पद गुम्ने खतरा मोल्नुपर्ने हुन्छ। पद गुम्ने डरले आफूनिकट थप नेता कार्यकर्ताले साथ छोड्नसक्ने आशंका ठाकुरलाई देखिएको छ।

 

प्रतिक्रिया