जनकपुधाम : संघीय संसद् सचिवालयबाट बरबुझारथ र रमाना नलिइ प्रदेश नम्बर २ प्रदेशसभा सचिवालयमा कार्यरत निमित्त सचिव रञ्जितकुमार यादवको तलब रोक्का गरिएको छ ।
संघीय संसद सचिवालयले उपसचिव यादवलाई सचिवालयको नगद तथा जिन्सी सामान बरबुझारथ गर्न बारम्बार ताकेता गरे पनि उनले त्यसका लागि चासो नदेखाएका कारण तलब रोक्काका लागि प्रदेश २ प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा प्रदेशसभा सचिवालयले उनको तलब रोक्का गरेको हो ।
साढे ३ वर्ष पूर्व संघीय संसद सचिवालयमा उप–सचिव पदमा कार्यरत रहेका यादवले सचिवालयको केही थान सामग्री बरबुझारथ नगरी, रमाना पत्र नै नलिई प्रदेश २ को प्रदेशसभामा आएर सभामुख सरोजकुमार यादवको ईशारामा काम गर्दै आएका छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले रञ्जित कुमार यादवले संघीय संसद सचिवालयबाट प्रदेशमा समायोजन हुँदा सचिवालयबाट लिएको पेश्की रकम, सवारी साधनसहित अन्य जिन्सीका सामग्री समेत बरबुझारथ नगरेको र रमानासमेत नलिई प्रदेशसभामा काम गरिरहेको जानकारी दिए ।
उनले भने, ‘उहाँले संघीय संसद् सचिवालयबाट बुझ्नुभएको पेश्की रकम, सवारी साधनसहित अन्य जिन्सीका सामग्री बरबुझारथ नै नगरी प्रदेशसभामा काम गरिरहनुभएको थियो । वहाँले सचिवालयबाट लिनु भएको पेश्की वापतको ५४ हजार ३ सय रुपैयाँ नगद, वहाँले बुझेका मोटरसाइकल, ल्यापटपसहित विभिन्न जिन्सी सामानहरू संघीय संसद सचिवालयमा हालसम्म बुझाउनु भएको छैन ।’
ती सामग्री तथा पेश्की रकम बुझाउन मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेर गरेको कारण गोरखापत्र दैनिक पत्रिकामा निमित्त सचिव यादवको नाममा संघीय संसद सचिवालयले एक सूचनासमेत प्रकाशित गराएको थियो ।
संसदीय सचिवालयको सामग्रीहरु बुझाउन अटेर गरेकै कारण ०७७ फागुन २९ गते गोरखापत्रमा बरबुझारथ गर्नका लागि सार्वजनिक सूचना नै प्रकाशित गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा। पाण्डेले बताए । ‘तर पनि उहाँले कुनै चासो नलिएपछि २ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखेर उहाँको तलब रोक्का गर्न भनेका थियौं ।’
संघीय संसद् सचिवालयले लेखेको पत्र अनुसार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर बोधार्थ ०७८ साउन २० गते संघीय संसद सचिवालयलाई समेत पठाएपछि साउन २० गतेदेखि उनको तलब रोक्का गरिएको छ ।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रशासनतर्फका सचिव यमप्रसाद भुसालले संघीय संसद सचिवालयबाट आएको पत्र अनुसार यादवको तलब रोक्का गर्नका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेखेको बताए ।
निमित्त सचिव रञ्जित कुमार यादवले कर्मचारी समायोजनपूर्व नै आफु यहाँ आएकोले त्यतिबेला बुझाउनुपर्ने अवस्था पनि नभएको हुँदा तत्कालै संघीय संसद सचिवालयमा सामान बुझाउन नसकेको बताएका छन् । उनले कर्मचारी समायोजन पूर्व आउँदा संघीय संसद सचिवालय अव्यवस्थित रहेकोले आफुले बुझाउन नसकेको बताए ।
उनले भने, ‘समायोजन नहुँदै म यहाँ आएँ, त्यतिबेला बुझाउनु परेन । यहाँ आएपछि आफु अहिलेसम्म पनि संघीय संसदमा जान नपाएकोले बुझाउन नसकेको हो ।’
निमित्त सचिव रञ्जित कुमार यादवलाई प्रदेशसभाको सचिवालयमा राख्नकै लागि सभामुख सरोजकुमार यादवले प्रदेशसभा संचालन सम्बन्धी विधेयकसमेत अघि बढाउन चाहेका छैनन् । निमित्त सचिव यादव सभामुख यादवका निकट मानिन्छन् ।
प्रदेशसभा सदस्य परमेश्वर साहले यति लामो समयसम्म प्रदेशसभा आफै ऐन कानुनविना सञ्चालन हुनु गलत रहेको बताए । प्रदेशसभा संचालन विधेयक ०७५ भदौ १८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गरिएको छ । सो विधेयक पारित नहुँदा प्रदेशसभाले सचिवस्तरको कर्मचारी पाउन सकेको छैन ।