प्रधानमन्त्री ओलीले लगाए कोरोनाको खोप, दोस्रो चरणको अभियान सुरु

काठमाडौँ ः प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालमा उनले कोरोना खोप लगाएका हुन् । उनीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् ।

यस्तै,प्रधानमन्त्री ओलीले आइतबारदेखि मुलुकभर दोस्रो चरणको खोप अभियान पनि उद्घाटन गरेका छन् । दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

यस्तै, आइतबार बिहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आएको छ । कोभ्याक्स सुविधाअन्तर्गत आइतबार आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो ।

भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो ।

त्यस्तै नेपालले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज फागुन ८ गते आइसकेको छ । सरकारले अतिरिक्त ५० लाख डोज खोप किन्ने तयारी गरिरहेको पनि स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए ।

प्रतिक्रिया