Sunday 3rd of November 2024

मानवलाई प्रकृतिको पाठ

0 Shares

–पुरुषोत्तम पोखरेल

पृथ्वीमा मानव जीवनको मुल आधार जल र जंगललाई हाम्रा पुर्खाहरुले विषेश महत्व दिदै आएको रहस्य भित्र जीवन र भविष्य अन्तर्निहित रहेका छ्न भन्ने कुराको हेक्का सबैले राख्न जरुरी छ । रुख जल हो, जल अन्न हो, र अन्न जीवन हो भन्ने कुरालाई पुष्टि गरि रहनु नपर्ला । हजारौं वर्ष पहिलेका ति बिचार आज पनि त्यतिनै वैज्ञानिक र अकाट्य छन् । युगौयुग देखी मानव र प्रकृतिबीचको अन्योन्याशृत सम्बन्ध रही आएको छ । जसरी रुख बिरुवाले फालेको अक्सिजन मनिसले लिने गर्दछन् , त्यसरी नै मानिसले फालेको कार्बन डाइअक्साईड रुख बिरुवाले लिने दिने प्रक्रिया एक अर्काको जीवन पद्धतिसंग अन्तरसम्बन्धित छन्, अथवा एक अर्काको पुरक मानिन्छन् । प्रकृतिले हामी मानवलाई बस्नलाई भूमि, खानलाई अन्न फलफूल, पिउनलाई स्वच्छ पानी, प्रकाश, उर्जा, शितलता, सुगन्ध तथा सौन्दर्यता आदि सबै निस्वार्थरुपमा प्रदान गर्दै आएको कुरा सर्वविदितै छ । अर्को हिसाबले भन्नु पर्दा प्रकृति र मानवबीच आमा र सन्तानको जुन वात्सल्यता रहन्छ, त्यही स्नेह प्रकृति र मानवबीचको युगौयुग देखिको मिठासपूर्ण सम्बन्ध छ । पृथ्वीमा प्रकृतिले हामीलाई बिना भेदभाव सम्पूर्ण उपभोग्य बस्तु निशर्तरुपमा उपलब्ध गराई रहदा हामी मानव जाति चाही निहित स्वार्थपरिपूर्ति गर्न निरन्तर प्रकृति बिनास गरि आफ्नो वर्तमान जीवन र सन्ततिको भबिष्यलाई उजाड तथा ध्वस्त बनाउन उद्दत देखिन्छौ । पृथ्वीमा मानव मात्र नभई अन्य करोडौं जीवजन्तु ,वनस्पतिहरुलाई पनि बाच्न र हुर्कन उतिकै हक अधिकार छ भन्ने कुराको ख्याल हामीमा किन हुदैन ? आजको शिक्षित र विकशित समाजमा पनि क्षणिक सुख र बिलासी जीवनका खातिर हुर्कदो कुसंस्कार अत्यन्तै दुःखद छ । मानवीय क्रियाकलापले कार्बन उत्सर्ग तीब्र गतिले बढेको छ , जसका कारण तापक्रम वृद्धिसंगै जलवायु जन्य विपद बढ्दाछन् । आजको आधुनिक विकासलाई बेलाबखतमा प्रकृतिद्वारा मचाइने बिनासलीलाले भौतिकबादीहरुलाई आफ्नो ठाउँमा रहन गतिलो पाठ भने सिकाएको छ ।

आखिर के हो विपद ? ऋतु अनुसार अनायास रुपमा आइपर्ने खतरा ,जसले मानवीय ,भौतिक तथा पर्यावरणीय नोक्सानीलाई विपद भनिन्छ । सामान्यतया मानव प्रकृतिबीच विपदको पुरानो र स्वभाविक सम्बन्ध रहेपनि जनसंख्या वृद्धि , वन बिनास, बढदो गरिबी , बेरोजगारी र प्रदुषणले जसरी प्रकृतिमाथि हस्तक्षेप बढाउँदो छ, सोही अनुपातमा प्रकृतिले पनि आफ्नो स्वरुपमा परिवर्तन ,आकार प्रकारमा देखाएको विकरालरुपले जताततै हानी नोक्सानी बढाउँदैछ । पृथ्वीमा अस्वभाभिक तवरले प्रकोप बढ्दै जाँदा पनि हामी मानवको चेत खुलेको देखिन्न । जबकी प्राकृतिक प्रकोपले मानिसको जीवनभरिको कमाईबाट आर्जन गरेको घर, उद्योग ब्यबसाय सम्पत्तिको अतिरिक्त , सय डेढसय बर्ष लगाएर बनाएको सुन्दर शहरीकरणको संरचना , आधुनिक समाजको ढाचामा गर्व गर्ने लायक प्रगति आदिलाई भूकम्प , सुनामी ,तुफान र बाढीले क्षण भरमै धारासायी तथा सखाप बनाएको प्राकृतिक लीला आफ्नै आखाले देख्दै र भोग्दै आइरहेका छौ । विज्ञानको बुई चढेर प्रकृतिमाथि शासन गर्ने धृष्टता मानव जातिले कतै नगर्न पछिल्ला प्रकोपले पाठ सिकाएका छन् । आउँदा दिनहरुमा प्राकृतिक विपत् विश्वका लागि ठूलो टाउको दुखाइ बन्दै गएको छ । विशेषगरी सार्क राष्ट्रका भारत, पाकिस्तान, चीन नेपाल, श्रीलंका, भुटान र मालदिभ्स जस्ता मुलुकहरु अति जोखिम क्षेत्र भएपनि जोखिम न्यूनीकरणको दिशामा खासै चासो नदेखाउदा बर्षेनि मानवीय र अरबौको आर्थिक नोक्सानी झेल्दै आएका छौ । सामान्यतः विपद दुई प्रकारका मानिन्छन् , एउटा प्राकृतिजन्य अर्को मानवजन्न्य ।

जसका स्वरुप र प्रकार यस्ता छ्न : –

बाढी पहिरो :

हरेक बर्ष बङ्गालको खाडीबाट आउने मनसुन वायु प्रवेशसंगै नेपाली किसान हर्षित हुनुपर्नेमा उल्टै चिन्ताले पिरोलिन थाल्छन् । यसपटक मनसुन प्रारम्भ देखि नै अविरल बर्षाका कारण हेलम्बु र मेलम्ची बजारमा पटक पटकको बाढीले मचाएको ताण्डवलीला, सप्त्तकोशीको उच्च बहाव, कमला, बाग्मती, नारायणी, तिनाउ,भेरी,सेती, मेची कालिगण्डकी, महाकाली नदिमा आएको उर्लदो बाढीले राजमार्गदेखि दक्षिण तराईका ठाउँ ठाउँमा भारतले बनाएको उच्च बाधका कारण धेरैजसो भाग डुबानमा पर्दा घरबार देखि रोपिएको धान, तरकारी, फलफूल सम्पूर्ण गलेर भारिमात्रामा नोक्सानी पु¥याएको छ । उता पहाडी जिल्लाहरुमा गएको पहिरो र बाढीले मानवीय क्षति, घर ,खेतबारी , बस्तुभाउ बगाएर सर्वसाधारण किसानलाई थिलथिलो बनाएको छ । बाजुराको हिमाली गाउँ पालिकामा बाटो खन्दा १३७ घर भासिएर बिचल्लीमा परेका पीडित परिवार अझै पनि जङ्गलमा कन्दमुल खाएर बाचि रहेका छन । यसरी बाढी पहिरोका कारण बर्षायाममा बहुसंख्यक जनता घरको न घाटको भएर त्रिपाल मुनी भोको पेट रात काटने परिवारहरु बढेको बढ्यै छन् । यसका अतिरिक्त सडक ,सरकारी कार्यालय ,हाइड्रो पावर, टेलीफोन टावर ,विद्युुत गृह ,राजमार्ग र सहायक मार्गका पक्की पुलहरु बगाएको र धेरै पुलहरु राज्यको गैरजिम्मेबारीपनाका कारण अझै भासिने क्रममा देखिदै छन् । वर्षापूर्वको सतर्कता र वर्षापश्चातको उद्धार, उपचार र सहयोगको अभावमा पिडितहरु अझै आफ्नै भाग्यलाई दोष दिदै बाच्न विवश छन् ।

भूकम्प :

पृथ्वीमा आएको असुन्तलनको कारण उत्पन्न हुने कम्पन परिस्थितिलाई भनिएको हो । विक्रसम्बत १२८० देखि हालसम्म साना ठुलो भूकम्प हजारौं हजार गएपनि १९९०, २०४५ र २०७२ सालको भूकम्प सम्झनासाथ भयले शरीरमा कम्पन गराउछ । जीवनभरि पसिना बगाएर आर्जन गरेको धन सम्पत्ति दुइचार सेकेन्डको भूकम्पको झटकाले तासको घर झै क्षण भरमै गर्ल्याम गुर्लुम्म बनाएर स्वाहा पारेको घटना २०७२ लाई बिर्सन सकेका छैनौं । अझै पनि बारम्बार भूकम्पका सानातिना झटकाहरुले किमकर्तब्यबिमुढ गराई रहेको छ ।

आगलागी, डढेलो :

बास्तबमा यो एउटा मानवीय लापरबाही तथा षड्यन्त्रबाट हुने घटना हुन् । २०३० सालको सिंहदरवार आगलागी, २०७७ मा जुम्लाको तिलगंगा गाउँ पालिका र कालिकोटको पातालाका ६६ घर जलेर खरानी भए , फिदिम बजार , सुर्खेतको सिस्नरी, दाङको लहमी र तराईमा हुने आगलागी, चुरेक्षेत्रको सागरनाथ क्षेत्र ,बर्दिबासको सरस्वति सामुदायिक बन लगायत म्याग्दी तनहू डोटी बैतडी आदि क्षेत्रहरुमा प्रायः लाग्ने डढेलोले बर्सेनि करोडौंको क्षति गर्नुको अलावा वनमा आश्रित जीवजन्तु,पशुपन्छी, बहुमुल्य जडीबुटी ,वनस्पति तथा जैविक विविधता सम्पूर्ण स्वाहा भईरहेका छन् , जस्को भर्पाइ कदापी गर्न सकिन्न ।

चट्याङ् :

वर्षासंगै बादलको घर्षणबाट उत्पन्न हुने विद्युत पृथ्वीमा झर्ने प्रक्रियालाई चट्याङ भनिएको हो । बिगतको अनुपातमा चट्याङ बढदो क्रममा छ, चट्याङ पर्ने मुलुकहरूमा नेपालको तेस्रो स्थान आफैमा डरलाग्दो छ , त्यसमा झन मकवानपुर , मोरङ र उदयपुर जिल्ला अति जोखिम क्षेत्र मानिएको छ । यसका अतिरिक्त तराई र उत्तर पश्चिम नेपालका जिल्ला पनि मुक्त छैनन् । गतवर्ष भाद्र महिनामा जाजरकोटको कुशु गाउँ पालिका र जुम्लाको तिला गाउँ पालिकामा चट्याङले ४७५ भेडाहरु ठहरै भएका थिए । यसरी नै घरपालुवा बस्तुभाउ र मानवीय क्षति अझ कति हो कती ! यसबाहेक अन्य प्राकृतिक विपदहरुमा अत्यधिक गर्मी, जाडो, सुख्खा, हीम स्खलन,आँधी, असिना हामीले बराबर सामना गरी रहेका विपद हुन् । केही विपद्भने एक अर्कासंग अन्तरसम्बन्धित हुन्छन् , जस्तो भूकम्पसंग सुनामी ,चट्याङ्संग आगलागी ,अविरल वर्षासंग बाढी पहिरो, सुखासंग अनिकाल , रोगव्याधिहरु अन्तरसम्बन्धित प्रकोप हुन् । यी धेरैजसो मानवीय व्यबहारका कारण जलवायुमा आएको परिवर्तनको दुष्परिणाम हुन् । यसबाट पिण्ड छुटाएर भाग्न सकिन्न, बरु मानवीय व्यबहारमा परिबर्तन र असल संस्कार देखाउने खाचो छ ।

स्मरणयोग्य घटनाहरु :

११ मार्च २०११ मा जापानको अटामीमा भूकम्पका कारण आएको सुनामीको छालले क्षणभरमा शहर, बजार , एयरपोर्ट तथा विकासका संरचना समुन्द्रमा बिलयको कहालिलाग्दो घटना थियो । यस्तै अर्को २२ दिसम्बर २०१८ मा इन्डोनेशियाको क्राकटाउ , सुलाबेशी द्वीपमा आएको ज्वालामुखी बिस्फोटका कारण समुन्द्रमा निस्केको लाभाको लेदो आगो र सामुन्द्रीक छालले आसपासको पर्यटकीय क्षेत्र तहस नहस गर्दै गरेको बिलयको दृश्य शास्त्रमा बर्णन गरे झैं प्रलयकै भयानक रुपको देखिन्थ्यो । १६ जुन २०१३ मा भारतको उत्तराखण्डको केदारनाथको माथिल्लो क्षेत्रमा अविरल बर्षाको कारण पहिरोको लेदो माटो ढुङ्गा बाढीको पानी सबै मन्दाकिनी नदीले केदार नाथ मन्दिर परिसरका बजार, होटल लज सम्पूर्ण बगाउदाको हृदयबिदारक दृश्य बिर्सन सकिन्न । उक्त घटनामा थुप्रै भारतीय र नेपाली तिर्थयात्रीहरुले मृत्यु बरण गर्नु पर्यो भने कति हराएका यात्री अझै भेटिएका छैनन् । भर्खरै यही गएको जुलाईको दोश्रो साता अमेरिकाको एरिजोना, जर्मनको रईनल्याण्डर अहरबेली राज्यहरुमा जस्तै बेल्जियम , नेदरल्यान्ड , बेलायत, इटली ,क्यानाडा, आदि देशहरुमा सय बर्ष पछिको उर्लदो बाढी र सामुन्द्रीक तुफानले अकल्पनीय किसिमले मानवीय र भौतिक क्षति ग¥यो ।

तुफान—जब समुन्द्रको पानी तातिएर २६ डिग्री तापक्रम भन्दा माथी हावाको कम दबाबको कारण माथि जान्छ तब उक्त रिक्त स्थानमा हावाको उच्च दबाबका कारण वायु तेर्सो बनेर ठुलो आकारमा फनफनी घुमेर जताजतै पुगेर नोक्सानीको बितण्डा मचाउने तुफान पनि एउटा ठुलो विपद मानिन्छ । आमेरिकाको कोलोराडोमा २०१६ मा यस्तै तुफानले असंख्य धनजनको क्षति गरेको थियो । यस्तै भारतको उडिसा राज्यमा मे २०१९ मा आएको तुफानको बबण्डरले अपार धन जनको नोक्सानीलाई बिर्सन सकिदैन । यस प्रकारको तुफानलाई ठाँउ अनुसार बेग्लाबेग्लै नामले चिन्ने गरिन्छ । मेक्सिको खाडीमा टोरनाडो, चीन सागरमा ताईफोन, अष्ट्रेलियामा भिलिभिज र हिन्दमहादागर क्षेत्रमा चक्रबात प्रचलित नामहरु हुन र यसका २१ नामाकरण पनि गरिएका छन् ।

आगलागी र डढेलो :

यो मानवीय लापरबाहीका कारण हुने घटना अत्यन्तै दुखदायि बन्ने गरेको छ । दिसम्बर २०१९ मा अष्ट्रेलियाको न्यू साउथ वेल्स र विक्टोरिया राज्यको जङ्गलमा लागेको भीषण आगलागी निभाउन सरकारले आफ्ना सम्पूर्ण संयन्त्र प्रयोग गर्दा पनि आगो नियन्त्रणमा आउन नसक्दा आसपासका शहर , बहुमुल्य काठपात, जडिबुटी र राष्ट्रिय जन्तु कंगारु, क्वाला लगायत लाखौ लाख जीवजन्तु जलेका हृदयबिदारक घटना अझै पनि मनमा ताजा बन्छ । यस्तै इथोपियाको अनिकाल ( १९९२) को कारण करिब २५ लाख जनताले भोकमरीका कारण ज्यान गुमाएका थिए । यस बाहेक अत्यधिक चिसो र गर्मी ,असिना तथा कोरोना जस्ता रोगव्याधिको प्रकोप पनि उतिकै छ । प्राकृतिक र मानव निर्मित विपदहरुको लामो शृङ्खला र कहालीलाग्दा घटनाहरुको ईतिहासमा कथा र ब्यथा थुप्रै छन् ।

कारकतत्वहरु :

तिब्र गतिमा भईरहेको औद्योगिक कारण , वन बिनास, अव्यबस्थित र बढदो शहरीकरण , सुरुङ्ग्मार्ग, डाडाकाडामा खोलिएको सडक निर्माण (डोजर आतंक ) उच्चबाँध र पुल निर्माण ,सिचाइ नहर र हाइड्रोपावर निर्माण , हाइटेन्सन टावर ,जस्ता गम्भीर असर पु¥याउने आयोजनाहरुले हाम्रा जङ्गल र पहाडहरु क्रमशः ध्वस्त पार्दै लगेका छन् भने त्यसमा झन बारम्बार आउने भूकम्को धक्का र अविरल वर्षाले कमजोर बनाएको पहाडी संरचना , प्राकृतिक श्रोत साधनहरुको चरम उत्खनन र दोहन, बढदो गरिबी , जनसंख्या वृद्धि , प्रदुषण, कार्बन उत्सर्ग ,सरकारी फितलो नीति र दुरदर्शिताको अभाव प्रमुख कारकतत्व हुन । मानवीय लापरबाहीले गर्दा पृथ्वी, जल, वायु ,आकाशमा आश्रित सम्पूर्ण प्राणी जगत प्रदुषण ,अशान्ति र कोलाहलले त्राहिमाम छन् । यो अवस्था उत्पन्न गराउने मानव जातिले आफ्नो व्यवहार सुधार गर्न जरुरी छ ।

न्यूनीकरणका उपायहरु :

सर्वप्रथम राष्ट्रिय जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणको काँधमा आएको जिम्मेवारीलाई गम्भीरतापूवर्क लिन पर्दछ । यो जिम्मेवारीमा मनसुनमा सकृय हुने र अरु बेला हात बाँधेर बस्न मिल्दैन । प्राकृतिक प्रकोप बाह्रैमास ऋतु आआफ्नो स्वभाव अनुरुप निरन्तर चलिरहने प्रक्रिया हँुदा विपदको् घडीमा प्राधिकरणले चुनौतिको सामना गर्न सक्ने ल्याकत र तदारुकता देखाउन सक्नु पर्दछ । प्राकृतिक प्रकोप न्यूनीकरणमा सहजीकरणको लागि सरकारले तत्कालीन र दीर्घकालीन नीति तथा कार्यक्रमको प्रष्ट खाका जनसमक्ष ल्याई केन्द्रदेखि स्थानियतहसम्म समन्वय गर्न पर्छ । वातावरण असन्तुलन हटाउन प्राकृतिक श्रोतहरुको संरक्षण र सम्वर्धनमा (मानव सरह ) कठोर कानूनी प्रावधान अबिलम्ब लागू गर्न गराउन जोड दिने , कुनैपनि विकास निर्माणका ठुलठुला आयोजना प्रारम्भपूर्व विज्ञहरुको सुझावबाट त्यस्को दुरगामी असर र प्रभावको उच्च मुल्यांकन र समीक्षाको आधारमा मात्र स्वीकृत गर्ने , निश्चित मापदण्डबिनाको अव्यबस्थित र जोखिमयुक्त्त किसिमका बस्ती , बजार तथा शहरिकरण रोक्न हटाउन आवश्यक पहल गर्ने औद्योगिक क्षेत्रबाट हुने कार्बन उत्सर्गमा नियन्त्रण ,विद्यूतीय साधनहरुलाई प्रोत्साहन , प्रकोपबाट हुने हानी नोक्सानी न्यूनीकरणको लागि आवश्यक स्थानहरूमा सूचना संयन्त्र जडानगरी विपदको समयमा सतर्ककता अपनाउन पूर्व खबरदारी गर्ने , कुनै पनि प्रकारको प्रकोप आइपर्दा तुरुन्त आवश्यक जनशक्ति र राहतको साथ तम्तयार रहने, विपद पिडितहरुको समयमै स्वास्थ्योपचार , आवास ,भोजन, कपडा तथा आर्थिक सहयोगमा अभाव हुन नदिने , समय समयमा विज्ञहरुमार्फत सेमिनार, गोष्ठी राय सल्लाह प्राकृतिक प्रकोप सम्बन्धमा देशब्यापी रूपमा सचेतना कार्यक्रम र वृक्षारोपणलाई एउटा अभियानको रूपमा अघि बढाउने ,अनि कक्षा ५ देखी उच्चतहसम्म प्राकृतिक बहुप्रकोपका विषयबस्तुलाई पाठ्यक्रममा अनिवार्य गराउन सकेको खण्डमा ढिलोचाडो विपद न्यूनीकरणले उजाड जङ्गल र नाङ्गा डाडाहरुमा हरियाली थप्दै जीवनको सहजीकरणमा सकारात्मक भूमिका अवश्य खेल्ने छ ।

हिन्दु धर्ममा प्रकृतिको स्थान :

सनातन धर्ममा प्रकृति पूजालाई प्रकृति संरक्षणको रुपमा हेर्दै आइएको छ । नेपाल प्राचीन कालदेखि देवी देवता तथा ऋषिमुनिहरुको तपोभूमि रहेको र बाँच र बाँच्न देउको सिद्धान्तमा अडेको छ । विषेशगरी नदी , वायु ,अग्नी, रुख र नक्षत्रसंग मानव जीवनको बढी घनिष्ठता रहँदै आएको छ । सायद त्यसैले होला हाम्रा शास्त्रहरुले रुखको तुलना सन्तानसंग , नदीलाई आमा र सूर्य ,वायु ,पहाड र ग्रह नक्षेत्रलाई देवस्वरुप मान्दै आएका छौ । देवी देउता , ऋषिमुनीहरुको बासस्थान पहाडको टाकुरो गुफा र घना जङ्गलको आश्रय स्थल एउटा सुरक्षीत सुन्दर र स्वस्थ्य जीवन शैली प्रकृति प्रेमलाई जनाउथ्यो । अझै पनि कतिपय छरिएर रहेका हाम्रा आदिवासीहरु र हामीहरु प्रकृति पुजक मानिन्छौ । अहिलेसम्म हाम्रो धर्म संस्कृती मूल्य मान्यताको आधारमा गाई, कुकुर, काग , तुलसी पिपल , सुर्य आदिको पुजन र देवी देउताहरुको भाग छुट्याउने परम्परा पाइन्छ । पुराणमा पनि भनिएको छ, जुन मनुष्यले वृक्षारोपण गर्छ त्यो ब्यक्ति स्वर्गमा त्यति नै वर्ष सुख भोग्छ, जति वर्षसम्म त्यो वृक्षले फलफूल दिईरहन्छ । यसैगरी मत्स्य पुराणमा पनि सय पुत्र बराबर एउटा रुखको महत्वलाई झल्काइएको छ र वेदमा स्वच्छ पर्यावरण ,प्राणी कल्याण र पृथ्वी शान्ति । अन्तरीक्ष शान्तिका ध्वनिहरु पनि आजको परिपेक्ष्यमा उतिकै सान्दर्भिक र वैज्ञानिक देखिन्छन् । वैदिक धर्मले यस सृष्टि जगतबाट मनुष्य जातिले उपभोग गर्ने याबत विषयबस्तु हाम्रा जीवन हुन् र जीवन प्रदान गर्ने (पृथ्वी जल आकाश वायु अग्नि ) आवश्यक तत्वहरुको सम्मान र आदरस्वरुप गरिने पूजा अर्चना ,स्तुति, वन्दनाको आशय सृष्टिशक्ति अर्थात यस जगतको पालनकर्ताको रुपमा हाम्रा मूल्य र मान्यताहरु आज पनि उतिकै दुरदर्शि तथा जीवनोपयोगी रहि आएको हुदा सनातन धर्ममा प्रकृति पूजाको बिशिष्ठ स्थानलाई नकार्न मिल्दैन ।

प्राकृतिक प्रकोपका घटनाहरुले गरिब मुलुक देखि बिकसित राष्ट्रहरु समेत दिनानुदिन चिन्तित छन् । बिकसित राष्ट्रहरुका उद्योग कल कारखानाबाट उत्सर्ग कार्बन र अल्पबिकसित देशहरूले गर्ने प्राकृतिक दोहन दुबै वातावरण असन्तुलनका सहायक तत्व हुन् । विपद एउटा साझा र गम्भीर मुद्दा जीवन र जगतसंग गासिएको हुनाले यसको समाधान पनि साझा र संयुक्त्त प्रयासबाट खोज्न जरुरी छ । अन्य मुलुक भन्दा नेपालको भौगोलिक बिकटता , गरिबी र राजनैतिक अस्थिरता आफैमा ठूलो चुनौती एकातिर छ भने ,अर्कोतिर नेपाल प्राकृतिक प्रकोपको हिसाबले अत्यन्तै जोखिमयुक्त्त मुलुक मानिन्छ । झण्डै कुल जनसंख्याको ८०% मानिस कुनै न कुनै प्रकारको प्राकृतिक प्रकोपको सिकार बन्ने गर्दछ्न । हरेक बर्ष बर्खा याममा पीडितहरुको उद्धारमा केही प्रहरी र सेना उतार्ने , थोर बहुत चामल च्युरा, त्रिपाल र तारजाली उपलब्ध गराएर दोष जति प्रकोपको भनेर दायित्वबाट पन्छिने बानी विपद न्यूनीकरणको लागि बाधक हुन् । प्राकृतिक बिनासलीलाहरुको बिगत र बर्तमानलाई नियाल्दा मानव जीवनको रक्षा र अस्तित्व जोगाउने जस्ता गम्भीर बिषयलाई अझैपनि कतिपयले बिपदलाई ख्याल ठट्टाको रुपमा लिने गरेको पाइन्छ । बैज्ञानिकहरुका अनुसार सन २०३० सम्म प्राकृतिक विपदमा जटिल स्थिति आउने र अर्को सन २०४० सम्ममा तापक्रम ५८ डिग्री पुग्ने अनुमानले अझ बढी सतर्कता अपनाउन संकेत गरेको छ । तसर्थ नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न असन्तुलनलाई कम गर्न बर्तमान कानून अपर्याप्त र फितलो देखिन्छ । जे जति कानूनमा व्यबस्था छ, त्यो पनि कार्यान्वयन र अनुगमनको अभावमा लाचार र निरीह बनेका छन् ।

अतः मानिसले मानिसमाथि अपराध गर्दा दण्ड सजाए भए जस्तै प्रकृति बिनास गर्नेहरुप्रति कडा प्राबधान हुनु पर्दछ । मानिसद्वारा प्रकृतिमाथी हुने सामुहिक बलात्कार सम्बन्धमा कठोर दण्ड सजाय खोइ ? हाम्रा साझा घर भत्काएर उजाड बनाउने जघन्य अपराधी तथा दोषीहरुलाई पाता कसेर कठघरामा उभ्याउने कानूनी प्राबधान कहिले आउने ? जलवायु परिवर्तनले निम्त्याइएका समस्याप्रति कुनैपनि सरकारको ध्यानाकर्षण आखिर किन जादैन ? यी र यस्ता तमाम प्रश्नहरुको उत्तर सरकारसंग नागरिक समाजले माग्ने बेला आएको छ।

निष्कर्ष :

पृथ्वीमा मानव जातिको अनावश्यक अतिक्रमण र हस्तक्षेपका कारण २८० पीपीएम भन्दा माथि कार्बन उत्सर्गलाई रोक्न केवल वृक्षारोपण या नीति निर्माणले मात्र सम्भव छैन , यसबाहेक बढदो जनसंख्या ,चरम गरिबी ,बिकराल बेरोजगारी ,बढदो प्रदुषण र राज्यको उदासिनता जस्ता समस्या सन्तुलित वातावरणका लागि अबरोध हुन् । सरकारले समयमै दृढ़ ईच्छाशक्ति देखाउने हो र सर्वसाधारणले पनि कुशल भूमिका निभाउन सकेको खण्डमा विपद न्यूनीकण असम्भव भने छैन । अतः मानव जातिले आफ्नो खुट्टामा आफैले बन्चरो चलाउने काम आजैबाट बन्द गरौ र सन्ततिको लागि सोचौ ।

प्रतिक्रिया