
धनुषा : सरकारी स्कुल पढेर एमबीबीएसको इन्ट्रान्स टप गरेका धनुषाको सबैला नगरपालिकाका आशिक झालाई नगरपालिकाले आर्थिक सहयोग सहित सम्मान गर्ने भएको छ ।
चिकित्सा शिक्षा आयोगले साउन २२ गते सार्वजनिक गरेको नतिजामा झाले २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेका थिए । यो सँगै झाले चिकित्सा शिक्षा अध्ययनका निम्ति प्रदान गर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेसँगै उनले नगरपालिकाको नाम समेत उच्च गरेको भन्दै नगरपालिकाले आर्थिक सहयोग सहित सम्मान गर्न लागेको नगरप्रमुख विजय शंकर साहले जानकारी दिए ।
‘अहिले नै कति आर्थिक सहयोग गर्ने भन्ने छलफल भएको छैन्, नगरपालिकाको बोर्ड बैठक बसेर डिसीजन गर्छौ । आशिक झाले सर्वोत्कृष्ट नतिजा निकालेपछि उनको परिवारको सम्पर्क गरेर आर्थिक सहयोग र सम्मान गर्ने कुरा बताइसकेको छु ।’
सामन्य परिवारका झाले जनकपुरधामको श्री माध्यमिक विद्यालय ३ दशमलव ७ जीपीएसहित एसईई उतिर्ण गरेका थिए भने त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यामिक विद्यालयबाट कक्षा ११ र १२ अध्ययन गरेका झा २०७७ ब्याचका समेत सर्वोत्कृष्ट अंक हासिल गरेका थिए ।
निजी विद्यालयमा पढाएर मात्रै आफ्नो बालबालिकाले उत्कृष्ट नतिजा हासिल गर्छन् भन्ने अहिलेको धारणालाई चुनौती दिदै सामुदायिक विद्यालयमै अध्ययन गरेर पनि उत्कृष्ट नतिजा निकाल्न सकिन्छ भन्ने प्रमाणित गरेका झाको सफलताले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका लाखौं विद्यार्थीहरुले प्रेरणा लिनसक्ने सबैला नगरपालिकाका प्रमुख साहको विश्वास छ । झाको सफलताले सरकारी र सामुदायिक विद्यालयप्रतिको धारणा परिवर्तन हुने नगरप्रमुख साहको दाबी छ ।