नेपालसँगको रेल सञ्चालन सम्झौता रद्द गर्ने भारतीय कम्पनीको चेतावनी

काठमाडौं : भारतको कोंकण रेलवे कर्पोेरेसन लिमिटेडले जयनगर–कुर्था रेलवे सञ्चालनमा नेपाली पक्षका कारण अनिश्चितता आएको भन्दै सम्झौता रद्द गर्ने चेतावनी दिएको छ।

बुधबार नेपाली रेल निर्माता कोंकण रेलवेले छिट्टै रेल सञ्चालन नगरे सम्झौता रद्द गर्ने व्यहोराको पत्र नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई पत्र लेखेको हो।

उसले पत्र लेखेकै दिन महाप्रबन्धकबाट भट्टराईले बुधबार नै राजीनामा दिइसकेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका भट्टराईलाई भर्खर बनेको देउवा सरकारले स्पष्टीकरण सोधेको थियो। भट्टराईले स्पष्टीकरणको सट्टा राजीनामा नै बुझाएका हुन्।

कोंकणले २०१९ जनवरीमै जयनगर–कुर्था रेल सञ्चालनको लागि प्रस्ताव गरेको थियो। त्यसबेला नेपाल सरकारले २ वटा रेल मात्रै खरिद गर्ने निर्णय गर्यो। यसअनुसार कोंकणले २ वटा डेमु रेल २०२० सेप्टेम्बर १८ मा जनकपुर पठाएको थियो।

नेपाल सरकारले रेल भित्र्याएपछि कोंकणले नै व्यावसायिक रेल सञ्चालनको लागि प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमा जयनगर–कुर्था रेल सञ्चालनसहित मर्मतसम्भारको काम पनि आफैँले गर्ने कम्पनीले बताएको थियो।

सोसँगै नेपाल सरकारले भारतको रेलवे मन्त्रालयमार्फत रेल सञ्चालनको लागि व्यावसायिक दरहरु अपरिवर्तनीय हुने गरी कोंकणलाई सम्झौता गर्न लगायो। कोंकणले व्यावसायिक रेल सञ्चालनको लागि १६.८३ प्रतिशत छुट समेत दिएको पत्रमा उल्लेख गरेको छ।

सोहीअनुसार भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेल सञ्चालनको लागि नेपाल रेलवे कम्पनीले सम्झौता गर्यो। उक्त सम्झौताअनुसार नेपाल सरकारले २० प्रतिशत अग्रिम भुक्तानी कम्पनीलाई दिनुपर्ने थियो।

तर नेपाल सरकारले अहिलेम्म उक्त रकम बुझाउन नसकेको कोंकणले उल्लेख गरेको छ। अग्रिम भुक्तानी रकम नबुझाउनु दुई पक्षबीचको सम्झौताको उल्लंघन भएको कम्पनीले पत्रमा उल्लेख गरेको छ।

नेपाल सरकारले रकम भुक्तानी नगरे सम्झौताअनुसार रेल सञ्चालनको लागि कोंकण बाध्य नभएको पनि पत्रमा बताइएको छ।

त्यसबाहेक कुर्था–जयनगर रेल सञ्चालनको लागि ट्रयाक तयार भइसकेको, रेल पनि भित्रिएको तर सञ्चालन हुन नसकेको भन्दै कम्पनीले दुःख व्यक्त समेत गरेको छ।

रेल भित्रिएको करिब १ वर्षसम्म पनि जयनगर–कुर्था रेलवे सञ्चालनको लागि नेपाल सरकार तत्पर नभएको भन्दै कोंकणले छिट्टै रेल सञ्चालन गर्न ताकेता गरेको छ।

नेपाल रेलवे कम्पनीले कोंकणसँग माग गरेको दक्ष प्राविधिक उपलब्ध गराइकेको, रेल सञ्चालनका लागि ८९ जनालाई तालिम प्रदान गरेको समेत पत्रमा उल्लेख छ।

कोंकर्णले लोको पाइलट, अपरेटिङ र मेन्टिनेन्ससम्बन्धी प्राविधिक ३ पटक नेपाल पठाइसकेको छ। कोंकणले जयनगर–कुर्था रेल सञ्चालनको लागि इन्डियन रेलवेबाट कर्मचारी तथा विज्ञ ‘आउटसोर्स’ गरेको थियो।

हाल इन्डियन रेलवे कम्पनीले कर्मचारी तथा विज्ञ उपलब्ध गराउन पुरानो दरअनुसार अस्वीकार गरेको पत्रमा उल्लेख छ।

‘नेपाल रेलवे कम्पनीले रेल सञ्चालन गर्ने अनिश्चितताको बीच हामीलाई ‘होल्ड’ गरिएका दक्ष प्राविधिकलाई अन्य क्षेत्रमा लगाउनुपर्ने बाध्यता आएको छ’, कोंकण रेलवे कर्पोरेसन लिमिटेडका मेकानिकल प्रमुख डा. दिपक त्रिपाठीले लेखेको पत्रमा भनिएको छ, ‘रेल सञ्चालनको अनिश्चिताका बीच हामी लामो समय कुरेर बस्न सक्दैनौँ।’

कोंकणले नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभागका महानिर्देशकसहित काठमाडौंस्थित भारतीय दूतावासका  प्रथम सचिवलाई समेत पत्रको बोधार्थ दिएको छ।

‘पत्र पाएका छैनौँ’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव तथा प्रवक्ता केशब कुमार शर्माले कोंकणले पठाएको पत्र मन्त्रालयमा नआइपुगेको बताए।

‘मन्त्रालयमा कोंकणबाट अहिलेसम्म कुनै पत्र आएको छैन। पत्र आएपछि के गर्ने भन्ने विषयमा छलफल होला’, शर्माले नेपालखबरसँग भने।

१ वर्षअघि नै रेल ल्याए पनि रेल सञ्चालनसम्बन्धी कानुन नभएको, दक्ष जनशक्ति नभएको लगायत कारणले रेल सञ्चालन रोकिएको थियो। केपी ओली सरकारले रेल सञ्चालन अध्यादेश जारी गरे पनि कोभिड महामारी भन्दै रेल सञ्चालन गर्नसकेको थिएन।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले असार १५ भित्र रेल सञ्चालनको लागि तयारी गर्न नेपाल रेलवे कम्पनीलाई निर्देशन दिए पनि हालसम्म रेल सञ्चालन हुनसकेको छैन।

रेलवे कम्पनीको नेतृत्व नहुँदा र यही अनिश्चितताका बीच कम्पनीले सम्झौता रद्द गर्ने चेतावनी दिँदा सरकारमाथि रेल सञ्चालनमा दबाब परेको छ।

१ दिनअघि मात्रै पूर्वमहाप्रबन्धक बनेका गुरु भट्टराईले नेपाल सरकारले छिट्टै रेल सञ्चालनको लागि प्रक्रिया नबढाए कोंकणले सम्झौता रद्द गर्नसक्ने बताए।

उनले रेल सञ्चालनको लागि पूरा तयारी गरेको बेला गठबन्धन सरकारले स्पष्टीकरण सोधेपछि राजीनामा दिएको बताए।

‘कोंकणलाई अग्रिम भुक्तानीको लागि बैंक ग्यारेन्टी माग गरेको थिएँ। बैंक ग्यारेन्टी पनि दिएको छ’, भट्टराईले भने, ‘मैले अग्रिम भुक्तनीको लागि राष्ट्र बैंकबाट अनुमति लिई सबै तयारी गरेको थिएँ। सरकारले स्पष्टीकरण सोधेपछि भुक्तानी रोकेको हुँ।’

उनले आफू बाहिरिए पनि रेल सञ्चालन हुनुपर्ने बताए।

‘म बाहिरिएर रेल सञ्चालन रोकिनुहुँदैन भन्ने हो। मलाई पत्र आएपछि मुख्यसचिवलाई समेत जानकारी गराएको छु’, उनले भने, ‘रेलवे कम्पनीलाई आफूले हुर्काएकाले छिट्टै रेल सञ्चालन होस् भन्ने चाहेको छु।’

प्रतिक्रिया

सम्बन्धित समाचार