सर्लाही : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुरमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले शुक्रबार दिउँसोदेखि अवरुद्ध पारेको राजमार्ग साँझ खुलेको छ ।
स्थानीयको अवरोधका कारण ४ घण्टा अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्ग साँझ साँढे ६ बजे सुचारु भएको हो । शुक्रबार दिउँसो साँढे २ बजेतिर नवलपुरस्थित मुख्य बजारमा रहेको राम जानकी मन्दिर अगाडि पूर्वबाट पश्चिमतर्फ गइरहेको ना. ७ ख ८२९३ नम्वरको टिपरले ठक्कर दिँदा साइकलमा घाँस लिएर हिँडिरहेका लालबन्दी नगरपालिका–२, जुटपानी निवासी करिब ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको थियो ।
टिपरको ठक्करबाट घाईते भएका महतोको चालकले ब्याक गरेर किचेपछि मृत्यु भएको दाबी सहित स्थानीय बासिन्दा एवं आफन्तजनले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।शनिबार टिपर सञ्चालक र मृतक पक्षबीच क्षतिपूर्ति लगायत बारेमा छलफल गर्ने सहमति पश्चात पीडित पक्षले शुक्रबार साँझ मृतकको शव उठाएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु भएको थियो । ४ घण्टा भन्दा बढी समयदेखि चक्काजामका कारण साना सवारीहरु भित्री सडक हुँदै चलेपनि ठूलाखाले सवारी साधनको पश्चिम चन्द्रनिगाहपुर र पूर्व बर्दिवाससम्म नै जाम लागेको थियो ।
लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको उपस्थितिमा पीडित पक्षसँग छलफल गरी मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग खोलिएको हो । सो सहमतीसँगै ४ घण्टासम्म राजमार्गमा नै रहेको मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।
महतोको मृत्यु लगत्तै स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्दै टिफरमा तोडफोड र आगजनीको प्रयास गरेका थिए । टिफर जलाउने प्रयास भएपछि प्रहरीले भीड हटाउन ४ राउन्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो । स्थानीयले टिफरमा सामान्य तोडफोड भने गरेका छन् । दुर्घटना लगत्तै तनावग्रस्त बनेको नवलपुर बजारमा जिल्लाभरबाट ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।