वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल नेतृत्वको टोलीले राप्ती–दुधौरा डाइभर्सनको सम्भाब्यता अध्ययन अगाडि बढाउनका लागि स्थलगत रुपमा प्रारम्भिक अवलोकन गरेका छन् ।
बहुउद्देश्य महत्वाकाँक्षा बोकेको यस आयोजनाको लागि साम्भाब्यता अध्ययनको कार्यप्रारम्भ गर्न चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा तय गरिए अनुसार प्रदेशका साँसद, मन्त्रालयका प्रतिनिधि र बिज्ञसहितको टोलीद्वारा अवलोकन गरिएको मन्त्री सोनलले बताए ।
उनका अनुसार प्रदेश सरकारको पहलमा संघिय सरकारको सहयोगमा बाग्मती प्रदेशको राप्ती खोलामा ड्याम बनाएर प्रदेश २ को दुधौरा खोलामा पानी ल्याउने योजना छ ।
उक्त योजनाबाट बारा पर्साका किसानहरुलाई सिचाई तथा खानेपानीको लागी पर्याप्त मात्रामा पानीको प्रयोग गर्न सकिने उनले जनाए ।
अन्नको भण्डार भनेर चिनिने तराईमा सिचाईको समस्या भोग्नुपर्ने अवस्थाको अन्त्यका लागी बहुउद्देश्य योजनालाई सफल पार्न सक्रियताका साथ लागीरहेको सोनलको भनाई छ ।
सोही विषयमा बाग्मती प्रदेशको राजधानी हेटौडामा अन्तरक्रिया समेत गरिएको मन्त्री सोनलका स्वकिय सचिब रमेश सर्राफले बताए ।
संघिय सांसद एकवाल मिया, प्रदेश सभा सदस्य रामचन्द्र सिँह, मन्त्रालयका सचिब रामअधार साह, महाशाखाका प्रमुख, इन्जिनियर, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितीमा भएको अन्तरक्रियाले राप्ती–दुधौरा डाइभर्सन बहुउद्देश्य योजना सफल पार्ने निस्कर्ष निकालेको छ ।
निरिक्षणपछि दोस्रो चरणमा डिपिआर तयार गरि लागत अनुमान तयार गरेर आयोजनाको काम थालनी गरिने मन्त्री सोनलको भनाई छ ।