Tuesday 21st of January 2025

महोत्तरीको औरहीमा शिरीष न्युज अनलाईनको कार्यालय उद्घाटन

0 Shares

औरही :  महोत्तरीको औरही नगरपालिका १ औरही बजारमा स्थित समृद्धि कन्सल्टेन्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम, खबर दर्पण दैनिक र शिरीष साप्ताहिक पत्रिकाको शाखा कार्यालयको उद्घाटन आज समारोह बीच सम्पन्न भएको छ ।

 आज कार्यालय उद्घाटन औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले रिवन काटेर गरेका थिए । कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख यादव यस नगरपालिकामा पहिलो पटक मिडिया हाउसको स्थापना भएकोमा सफलताको कामना सहित उत्तरोत्तर प्रगतीको कामना गरे ।

उनले नगरपालिकाले मिडियालाई गर्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सत्य, तथ्य र निष्पक्ष समाचार संप्रेषणको लागि आग्रह गरे । उनले भने, ‘कुनै एउटै घटना बारे फरक-फरक मिडियाले फरक-फरक न्युज सम्प्रेषण गरेको कारणले गर्दा वास्तविकता बाहिर आउन सकिदैन । त्यसै कारण मिडियाका साथीहरूलाई सत्यतथ्य न्युज सम्प्रेषण गर्न आग्रह छ ।’

उदघाटन समारोलाई सम्बोधन गर्दै रामगोपालपुर नगरपालिकाका नगर प्रमुख अशोक मण्डलले मिडिया देशको चौथो अंगको दर्जा पाएको हुँदा कसै संग आग्रह-पूर्वाग्रह नराखी समाचार संप्रेषण गर्न सुझाव दिए । उनले यस क्षेत्रमा पहिलो पटक औरहीबाट मिडियाको कार्यालय स्थापना भएको हुँदा नगरपालिकाबाट गर्न सकिने साथ सहयोगको लागि प्रतिबद्धता व्यक्त गरे।

नेकपा एमालेका सरोज यादवले अहिले सम्म शहर केन्द्रित पत्रकारिताले ग्रामिण भेगबाट कार्यालय नै राखेर पहिलो पटक सुरुवात गरेको पत्रकारिताले जनताको पिरमर्कालाई मिडिया मार्फत उजागर गर्न सहयोग पुर्याउन विश्वास व्यक्त गरे ।

 

नेकपा माओवादी केन्द्रका रामबाबु चौधरीले संचारकर्मी र संचार संस्थालाई स्थापित र आर्थिक सहयोगको प्याकेज छुट्याउन स्थानीय सरकारसंग आग्रह गरे । उनले संचार संस्थाहरु आर्थिक अभाव झेल्नु परेको अवस्था रहेको हुँदा यस्तो बेलामा औरहीमा पहिलो पटक संस्था स्थापना भएकोमा सबै क्षेत्रबाट सहयोग हुनु पर्ने धाराणा व्यक्त गरे ।

जसपाका नेता दरेश यादवले संचारकर्मीहरुले ग्रामिण भेगका आवाज विहिन जनताको आवाज बुलन्द बनाउनको लागि काम गर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल महोत्तरीमा १५ स्थानीय तह मध्ये यस औरही नगरपालिकामा कुनैपनि संचार संस्था नभएको घडीमा समृद्धि कन्सलटन्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि. को शाखा कार्यालयको स्थापना भएकोमा नेपाल पत्रकार महासंघको तर्फबाट तथा व्यक्तिगत तर्फबाट सफलताको कामना व्यक्त गरे । उनले महोत्तरीको संचार माध्यमहरुमा १२ वटा एफएम, ७ वटा अनलाइन पत्रिका, ३ वटा दैनिक पत्रिका र ८ वटा सप्ताहिक पत्रिका संचालनमा रहेको जानकारी दिए ।

उनले सबै जसो संचार संस्थाहरुको अवस्था दैनिय रहेको जनाउँदै उनले भने, ‘स्थानीय तहका प्रमुखहरुलाई मैले आग्रह गर्न चाहन्छु कि एफएम, अनलाइन पत्रिका, दैनिक पत्रिका र सप्ताहिक पत्रिका सबै संचार संस्थाहरुलाई लोककल्याणकारी विज्ञापन मार्फत सहयोग गरिनु पर्दछ ।’ उनले स्थानीय तहहरुलाई मिडिया कानुन बनाउदा मिडिया मैत्री कानुन बनाउन समेत आग्रह गरे।

सो अवसरमा मिडिया सेन्टरका अध्यक्ष तथा शिरीष न्युजडटकममा सम्पादकले यस प्रकाशन संस्थाले अन्याय अत्याचार र भ्रष्टाचार विरुद्ध जहिले कलम चलाउने प्रतिबद्धा व्यक्त गरे । उनले जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचारको मुख्य नारा सहित यस क्षेत्रको लुकेका, वेवास्ता गरिएका, आवाज विहिन जनताको आवाज बन्न यस संचार संस्था भुमिका खेल्ने जनाए ।

गौशलामा संचारकर्मी तथा नेपाल पत्रकार महासंघ महोत्तरीका उपाध्यक्ष सुनिता महताले संचालन गरेका उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय गौशालाको प्रहरी निरिक्षक विष्णु प्रदिप वस्याल, विद्यालयका प्रधानाध्यापक, राजनीतिकर्मी, समाजसेवी, व्यापारी, संचारकर्मी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया