जनकपुर : सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । यसअघिका प्रदेश प्रमुख राजेश झा अहिराज हटाइएका छन् । प्रदेश २ को प्रदेश प्रमुखमा पूर्व सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता हरिशंकर मिश्र नियुक्त भएका छन् ।
सोमबारको मन्त्रिपरिषद बैठकले अहिराजलाई हटाएर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । मिश्रलाई नियुक्त गर्नका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिसकेको छ ।
महोत्तरीको पिपरा गाउँपालिका स्थायी घर भएका मिश्र नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् ।
मिश्र नेपाली काँग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई गत फागुन ७ गते प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
प्रदेश प्रमुख राजेश झा अहिराजले नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
आफूलाई प्रदेश प्रमुखको रुपमा काम गर्ने अवसर दिएकोमा सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
साथै कार्यकाल अवधिभर नागरिकसँग बस्ने मौका पाएकोमा प्रदेशका हरेक नागरिकप्रति समेत उनले आभार व्यक्त गरेका छन्।