
सर्लाही : सर्लाहीको कालिञ्जोर खोलामा मृत फेला परेकी १६ वर्षीया किशोरी प्रियांका भुजेलको हत्या भएको खुलेको छ ।
लालबन्दी नगरपालिका-१७ रानीगञ्ज डाँडाटोल बस्ने राजन भुजेलकी छोरी प्रियंकाको हत्या भएको सर्लाही प्रहरीले पुष्टि गरेको हो ।
हत्या आरोपमा प्रहरीले दुई किशोरलाई पक्राउ समेत गरेको छ । लालबन्दी नगरपालिका १७ का १८ वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएपी माधव बुढाथोकीले जानकारी दिए ।
गएको साउन ३१ गतेदेखि हराइरहेकी प्रियंकाको खोजविनको क्रममा शव गएको मंगलबार साँझ घरभन्दा तीनकिलो मिटर पर कालिञ्जोर खोलाको बगरमा खाडल खनेर गाडेको अवस्थामा फेला परेको थियो ।
पक्राउ परेका दुई किशोरले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारिसकेको डिएसपी बुढाथोकीले बताए । उनीहरुले नै किशोरीको शव गाडेको ठाउँ देखाएपछि फेला परेको प्रहरीको भनाइ छ ।
स्थानीयले भने प्रियंकाको बलात्कार गरी हत्या भएको आशंका गरेका छन् । प्रहरीले भने बलात्कार विषयमा पुष्टि गरेको छैन ।
प्रियंकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ। घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आए थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रियंकाको हत्याको विरोधमा स्थानीयबासिन्दाले बुधबार लालबन्दीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै दोषीमाथि कडा कारबाही र क्षतिपुर्तिको माग गरेका थिए ।
प्रियंकाकी बुबा राजनले पक्राउ परेका दुवै किशोर विरुद्ध किटानी जाहेरी प्रहरीमा दर्ता गराएका छन् । – टुडेपाटी
प्रतिक्रिया