राम नारायणय यादव, सप्तरी । सप्तरीको मलेठमा चार वर्ष अगाडी तत्कालीन मधेशवादी दलहरुद्वारा गरिएको अवरोधको क्रममा मारिएका पाँच जना आन्दोलनकारीहरुको सम्झना समान्य औपचारिकतामा सिमित हुन गएको छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेद्वारा सुरु गरिएको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत सप्तरीको मलेठमा आयोजित कार्यक्रममा अवरोध पु¥याउन गएका तत्कालीन मधेशवादी दलका नेताहरुद्वरा कार्यक्रममा अवरोध गर्न खोजदा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको ज्यान गएको थियो ।
आन्दोलनको क्रममा मारिएकाहरुको कतिपय शहिदका परिवारजनलाई प्रदेश सरकार र स्थानीय तहहरुले रोजगार दिएपनि तीनिहरुलाई कार्यालय सहयोगीको रुपमा नियुक्ति दिएर चिया पानी बोक्न लगाई मधेशी शहीदकै मान मर्दन गरेको आरोप समेत लाग्न थालेको छ ।
मलेठ घटनाका शहीदहरुको चौथौं पुण्यतिथीको अवसरमा आइतबार राजविराज नगरपालिका वडा नम्वर ९ मलेठमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै समाजवादी जनता पार्टीका विद्यार्थी नेता किशोर कुमार केसीले आक्रोश पोख्दै भने– ‘शहीद परिवारलाई कार्यालय सहयोगीको रुपमा चियाँ पानी बोक्न लगाउनु भन्दा ज्येष्ठ नागरिक सरह मासिक भत्ता दिने व्यवस्था गरि शहीद प्रति सम्मान प्रर्कट गर्नुपर्छ ’ उनले भने ।
यसैगरी राजविराज नगरपालिका ९ को वडा अध्यक्ष समेत रहेका सजपाका नेता शम्भु यादवले मलेठ घटनापछि नेताहरु निदाएको आरोप लगाउँदै भने –‘ जुन आन्दोलनको जगमा प्रदेश २ मा मधेशवादी दलको सरकार बन्यो, नेताहरु मन्त्री, सांसद र जनप्रतिनिधि भए आज तिनीहरु सोही घटनालाई विर्सिन थालेका छन् ।’
त्यसैगरी सजपाका जिल्ला नेता सतिश सिंहले शहीद परिवारको उचित व्यवस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
तर जसपाका जिल्ला अध्यक्ष केदार यादवले भने प्रत्येक वर्ष ठूलो सभा गरेर शहीदलाई सम्झिनुको साटो प्रत्येक दिन उनीहरुको स्मरण योग्य काम गर्न जनप्रतिनिधिहरुलाई सुझाए ।
प्रतिउत्तरमा प्रदेश सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मलेठ घटनापछि नेपाली राजनीतिको कोर्ष परिवर्तन भएको दावी गरे । मलेठ घटनाको छानविन गर्न प्रदेश सरकारद्वारा गठित समितिले आफ्नो प्रतिवेदन मुख्य मन्त्री कार्यालयमा बुझाएपनि कारवाही गर्ने संयन्त्रण नरहेकाले प्रतिवेदन सार्वजनिक नगरिएको दावी उनले गरे ।
प्रदेश सरकारद्वारा गठित छानविन समितिका सदस्य समेत रहेका मन्त्री साहले उक्त घटनाका दोषीहरु उपर कारवाही गर्न प्रदेश सरकारले संयन्त्र बनाउन लागेको जानकारी समेत दिए ।