गोपी कृष्ण कहो !

मदन लम्साल

मानिसहरूमा केही न केही पाल्ने शौख हुन्छ । त्यसैले कोही कुकुर पाल्छन्, कोही बिरालो । कोही घोडा पाल्छन् त कोही गधा । कोही अरिंगाल पाल्छन्, कोही हनुमान् । कोही चम्चा पाल्छन् त कोही नेता । म पनि कत्ति दिनदेखि केही न केही पाल्ने सोचिराथेँ । विचार गरेँ । के पालूँ ? कसको अगाडि टुक्रा फालूँ ? एक मनले कुकुर पालूँ कि जस्तो पनि लाग्छ । मेरो सानो छोराको विशेष आग्रह पनि त्यै छ । तर, कुकुर पाल्न बढी नै झन्झट हुन्छ ।

भारतीय कुकुरका अलग रङ, चिनियाँ कुकुरका अलग । त्यसैले होला नेपालमा भारतीय र चिनियाँ कुकुरहरू अलि बेशी नै झगडा गरिरहन्छन् ।

फेरि हिजोआज ती पुराना कुकुर जस्ता पनि रहेनन् । हाम्रा हजुरबुबाका जमानाका जस्ता कुकुरहरू हिजोआज गायब छन् । जब चोर आउँछ, तब सबैभन्दा पहिले पुच्छर लुकाएर त्यै कुकुर भाग्छ । भात यताको खान्छ, तलुवा उत्तर वा दक्षिणको चाट्छ । कुकुरको पुच्छरका बारेमा त सबैलाई थाहै छ । सीधा पाइपलाई पनि कुकुरको पुच्छरले बंग्याइदिन बेर लाउन्न । फेरि यी कुकुर पुच्छर पनि हल्लाउँछन्, भुक्छन् पनि । एकैचोटि भुक्ने र पुच्छर हल्लाउने भएपछि कसलाई भुकेको हो भन्ने थाहा पाउन गाह्रो । यी बडा कूटनीतिक भएका छन् अचेल ।

फेरि कुकुरहरू एकआपसमा लडाइँ धेरै गर्छन् । धेरै प्रतिस्पर्धा गर्छन् । भारतीय कुकुरका अलग रङ, चिनियाँ कुकुरका अलग । त्यसैले होला नेपालमा भारतीय र चिनियाँ कुकुरहरू अलि बेशी नै झगडा गरिरहन्छन् । हिजोआज त अमेरिकन कुुकुर पनि खुब ङ्यारङ्यार गर्न थाल्या छन् क्यारे ! यस्ता उद्दण्ड र कुटिल कुकुरहरूकै कारण मैले कुकुर पाल्ने विचारै त्यागिदिएँ । त्यसमा पनि कुकुर बिहान बेलुका टहलिन जान्छ । त्यसको पछि पछि भाग । अगाडि अगाडि कुकुर र पछि पछि आफू लाग । यो काम मबाट हुनै सक्तैन ।

वास्तवमा भन्ने हो भने ममा त्यति योग्यता पनि छैन कि म कुनै ढंगको कुकुर पाल्न सकूँ । अझ सत्य कुरा यो हो कि एक प्रकारले सबै कुकुरहरूले मलाई चैं अयोग्य घोषित गरिदिएका छन् । यो पनि सत्य हो कि हिजोआज कुकुरहरू आफ्ना ढंगका मालिक चैं पाल्छन् । कुकुरहरू नै मानिसका घाँटीमा आफ्ना ढंगका फित्ता लगाइदिन्छन्, ताकि उसको मालिकले बिहान बेलुका उसलाई घुमाउन सकोस् । त्यसैले मेरो रुचि गधा पाल्नेतिर चैं गयो । गधा पाल्नुभन्दा गधा बन्नु चाहिँ सजिलो हो कि ? जुगानुजुगदेखि सरकारले गधा बनाएको बनायै छ । गधा बुद्धिमान् कि गुरु भनेर उहिल्यै देवकोटाले लेखेका थिए । काम बिगार्‍यो कि गधा भन्ने उपमा नखाने त को नेपाली होला र ?

तर गधाको पनि आफ्नो विगत छ । पुरानावाला गधा हिजोआज गायब छन् । म आफैले गधाको भारी बोक्न सम्भव छैन । गधा पाल्नुको साटो आफै गधा हुनु बढी उचित हुन्छ । जसरी साँझ बिहान नभनी, खटेर काम गरेर आफ्नो आम्दानीको मुख्य हिस्सा सरकारलाई बुझाइरहेको छु यो भन्दा कति गधा बन्नु ? यसरी वास्तवमा म एक गधा नै हुँ । त्यसैले मैले यसमा गहन सोचविचार गरेको थिएँ कि म गधा नै बन्छु भनेर । नेताहरूका वचन, प्रतिबद्धता, नारा, घोषणापत्रहरूका भारी बोक्ने असली शुद्ध २४ क्यारेटवाला गधा । तर गधा बन्न कति गारो हुन्छ भन्ने तपाईंलाई रामै्र थाहा होला ।

तैपनि म कुनै जनावर पाल्ने विचार गरी नै रहेको छु । तर अझै दोधारमा छु के पालौं भनेर । त्यसैले बरु मैले चम्चा पाल्न उचित ठानेँ । आखिर चम्चा पनि चारखुट्टे जनावर नै त हो । हुन त चम्चा पाल्न पनि त्यति सजिलो त कहाँ छ र ? बरु कोरोनाको भ्याक्सिन बनाउन सजिलो रहेछ, उत्तर र दक्षिण ध्रुवमा फर्किएका दलहरूको गठबन्धन बनाउन सजिलो होला । तर चम्चा उत्पादन गर्न चैं साह्रै गाह्रो । रातदिन चम्चाहरूका नखरा । चौबीसै घण्टा उनीहरूकै हेरचाह । ओहो ! चम्चाहरू पाल्नुको सट्टा नेतै पाल्न धेरै सजिलो होला जस्तो ।

हो, नेता पाल्न कुकुर र गधा पाल्नभन्दा सजिलो छ । उसको भीडको हिस्सा बन । झुठो आश्वासनमा आफूलाई हराइदेऊ । उसका नाराहरूसँगै आफ्ना ओठहरू हल्लाऊ । यता उताबाट चन्दा–सन्दा र कमिशन आदिको जोरजाम गरेर नेतासम्म पुर्‍याऊ । यसरी यो काम चैं सजिलो त लाग्यो । तर यसो हिसाब गर्दा यसमा पनि नोक्सानी नै पो देखियो । नेताहरू प्रत्येक दिन काममा आउन्नन्, पाँच वर्षसम्म त गाउँमै आउन्नन् । फेरि, न त मलाई कतै सरुवा हुनु छ, न कुनै ठेक्कापट्टा हत्याउनु । त्यसैले यति धेरै खर्चिलो सम्झौता गर्न मलाई उचित लागेन ।

थकित र गलित भएपछि सबै छाडेर अन्तमा मैले सुगा पाल्ने योजना बनाइरहेको छु । म जस्तो बोलूँ, सुगा त्यस्तै बोल्छ । म जस्तो गर भन्छु, ऊ त्यस्तै गर्छ । म जसरी हिँड्छु, मुठ्ठी कस्छु, ऊ त्यस्तै नक्कल गर्छ । मेरा शब्द र उसका गला । यस्तो आज्ञाकारी सुगा नै ठीक । त्यसैले कामरेड ! मैले पनि एउटा सुगा नै पाल्न शुरू गरेँ है । मेरो सुगाछाप दलको प्रवक्ता । दलको पिँजडामा दाना हाल्दिइएको छ । दिनभरि मेरै शब्दहरू बकिरहन्छ । अब जसै म मनमनै बोल्छु, तसै सुगा मिडियामा हरेक टीभी च्यानलमा ‘गोपी कृष्ण कहो’ गर्दै हिँड्छ । हाँसे पनि मीठो लाग्छ, बोले पनि प्यारो लाग्छ । त्यसो त यो चम्चा, दलाल, कुकुर, गधा सबैको मिश्रण पनि हो । वास्तवमा सुगा पाल्नुको मज्जा नै बेग्लै हुँदोरहेछ त ! बरु तपाईं पनि ‘गोपी कृष्ण कहो’ भन्ने कि ?

प्रतिक्रिया

सम्बन्धित समाचार