Sunday 19th of May 2024

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

0 Shares

धनवीर महतो
गौशाला / एकाविहानै उदाँउदो सुर्यलाई विहानीपखको अध्र्य अर्पण गरेपछि मिथिलान्चलक्षेत्रमा विधिवत रुपमा चैती छठ (वासन्ती छठ) सम्पन्न भएको छ । पञ्चमी तिथि अर्थात शनिबारका राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएपछि अहिले पारण गर्दैछन् ।
मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनट समयको हाराहारीमा भएको हो । यसअघि व्रतालु सूर्योदय हुनु एक घडिपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । यसअघि गत कात्तिकमा शरद ऋतुको छठ कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइएको थियो ।
व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई ‘भोरका अरख’ दिएका हुन् । ‘भोरका अरख’ अर्पण गरिएसँगै छठ पर्व समापन भएको हो । पर्व सकिएसँगै अहिले घरघरै छठिमाताको प्रसाद खाने/खुवाउने क्रम सुरु भएको छ ।
यसअघि हिजो आइतबारसाँझ व्रतालुले साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अध्र्य दिई छठपर्वको मुख्यपूजा ‘सझुका अरख’ अर्पण गरेका थिए । त्यस्तै शुक्रबार चैत शुक्ल चौथीका दिन ‘नहाय-खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै सुरु गरेका थिए । यसैगरी छठमा व्रतालुले गत शनिबार पञ्चमीका दिन ‘खरना’ सम्पन्न गरेका थिए ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । छठ व्रतको प्रभावले दुःख, दारिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्क्षा पूरा हुने मैथिल जनविश्वास छ ।

प्रतिक्रिया